गलेश्वर (म्याग्दी), २७ जेठ : जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेश निर्यात गरी मनग्य आम्दानी गर्न थालेका हुन् ।
बेनी नगरपालिका–७ मङ्गलाघाटकी लीला पुनले अल्लो र ढाकाबाट टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत विदेशमा पठाएर यस वर्ष रु १५ लाख आम्दानी भएको जानकारी दिनुभयो । उत्पादित कपडाको अष्ट्रेलिया, जापान, लण्डन, हङ्कङ, दक्षिण कोरिया, अमेरिकालगायत युरोपका देशबाट नियमित माग हुने गरेको उहाँको भनाइ छ ।
विदेशमा रहेका नेपालीको रोजाइमा ढाकाबाट बनेका विभिन्न किसिमका सामग्री पर्न थालेपछि महिला उद्यमी पुनलाई भ्याइनभ्याइ छ । स्वदेश तथा विदेशबाट आउने मागअनुसार उत्पादन गर्न नसकिएको भन्दै जिल्लाका अन्य उद्यमीबाट समेत खरिद गरी विदेश पठाउने गरेको उहाँले बताउनुभयो ।
पुनले स्वदेशमाभन्दा धेरै विदेशमा बसोबास गर्ने नेपालीले बढी किन्ने गरेका जानकारी दिनुभयो । “माग थेग्नै सकिँदैन, अहिले अल्लो र ढाकाबाट निर्मित सामग्रीलाई बजारको अभाव छैन”, उहाँले भन्नुभयो । उहाँले ग्राहकको रोजाइअनुसार ढाकाका कपडा तयार गर्न सकेमा घरमै खरिद गर्न आउने बताउनुभयो ।
अठार वर्ष पहिला भकिम्ली हाल बेनी–३ बाट रोजगारीको खोजीमा सदरमुकाम बेनी आउनुभएकी पुन जिल्लाकै सफल उद्यमी बन्नुभएको छ । विदेशमा ढाकाको कपडाको माग बढेसँगै आम्दानी समेत बढेको पुनको भनाइ छ । “विदेशमा नेपाली उत्पादन भनेर प्रचारप्रसार भइरहेको छ, अहिले कोसेली दिन पनि अल्लो र ढाकाकै कपडाबाट बनेका सामग्री प्रयोग हुन्छन्”, उहाँले भन्नुभयो ।
पुनले मागअनुसारको उत्पादन नभएपछि जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर नयाँ उद्यमीलाई सीप सिकाउँदै आएको जानकारी दिनुभयो । ढाकासँगै अल्लोका कपडा बिक्री गर्ने पुनले सीप, जाँगर र उद्यमीको परिचय दिन चाहनेलाई निःशुल्क तालिम दिने बताउनुभयो ।
“पैतलादेखि शिरसम्म लगाउन मिल्ने कपडा हाते तानबाट बुन्दै आएको छु”, पुनले भन्नुभयो, “तानमा बसेपछि समय बितेको पत्तै हुँदैन । अहिले प्रशिक्षणका लागि पनि माग आउने गरेको छ ।” अहिलेसम्म दुई हजारभन्दा बढी उद्यमीलाई अल्लो र ढाकाको प्रशिक्षण दिएको उहाँले जानकारी दिनुभयो । “जिल्लामा अल्लो र ढाकाका कपडा बुन्न ३० जना उद्यमी सक्रिय छौँ । वार्षिक रु एक करोडभन्दा बढीका कपडा विदेश निर्यात गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
पुनबाहेक नेकसरा पुन, दिलु घताने, विष्णु गुरूङलगायतले ग्रामीण क्षेत्रका साथै विभिन्न स्थानीय तहमा पुगेर तालिम दिन थालेपछि उद्यमीको सङ्ख्या बढेको उद्यमी दिल घतानेले बताउनुभयो । अल्लो र ढाकाको उत्पादन बिक्री गर्ने महिला आर्थिकरुपमा सम्पन्न हुँदै गएका उहाँको भनाइ छ ।
महिला उद्यमीका अनुसार वार्षिक रु एक करोडभन्दा बढी विदेशबाटै कमाइ हुने गरेको छ । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएकाले महँगो भए पनि अल्लो र ढाकाबाट उत्पादिन वस्तुको माग बढ्दै गएको उहाँहरुको भनाइ छ ।
जिल्लास्थित प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीले विदेशमा रहेका म्याग्देलीले ढाका र अल्लोका कपडाको बजारीकरण तथा प्रयोगमा सघाइरहेका बताउनुभयो । उहाँले अल्लोको कोटपाइन्ट, टोपी, सारीको प्रयोग गरी सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने गरिएको जानकारी दिनुभयो ।
रोजगारी, पेसा र व्यवसायको सिलसिलामा विश्वका विभिन्न देश पुगेका म्याग्दीवासीले आफ्नो जन्मथलोको पहिचानका रुपमा अल्लो र ढाकाको कपडा प्रयोग गर्न थालेका हुन् । “विदेशमा रहेका म्यादेलीले चाडपर्व र सभासमारोहमा ढाका र अल्लोबाट निर्मित कपडाको पहिरन प्रयोग गर्न थालेकाले यसको माग बढेको हो”, उद्यमी पुनले भन्नुभयो ।
उच्च पहाडी क्षेत्रमा पाइने अल्लो पुवालाई प्रशोधन गरेर बनाइएको धागो र ढाकाबाट साडी, सल, कुर्था, गलबन्दी, रुमाल, पर्स, चोलो, टोपी बनाउन सकिन्छ । यहाँको कला, सीप र पहिचानलाई अन्तर्राष्ट्रियकरण गरी प्रवर्द्धन गर्न मोनाले सघाएको उद्यमीहरुले बताएका छन् ।
एक मिटर ढाका र अल्लोको कपडालाई रु छ सयदेखि रु एक हजार पर्दछ । एक जनाले एक दिनमा एक मिटरसम्म कपडा बुन्न सक्छन् । पहिला सादा कपडा बुन्दै आएका उद्यमीले पछिल्लो समय ग्राहकको मागअनुसार रङ्गीन र बुट्टेदार कपडासमेत बनाउन थालेका छन् ।
उद्यमीहरुलाई लघुउद्यम विकास कार्यक्रम, घरेलु तथा साना उद्योग विकास समिति, वन डिभिजन कार्यालय, गरिबी निवारण कोषलगायत निकायले सीपमूलक तालिम, औजार र प्रविधिको सहयोग गरिरहेका छन् ।