कास्की, २६ जेठ : पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषद् र गण्डकी प्रदेश फुटबल सङ्घको आयोजनमा भइरहेको प्रतियोगिताको आज दोस्रो दिनका खेलपछि सेमिफाइनल खेल्ने टोलीको समीकरण निश्चित भएको हो । सेमिफाइनलको पहिलो खेलमा म्याग्दीले कास्कीको सामना गर्नेछ भने बागलुङ र तनहुँबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।
आज सम्पन्न भएका क्वाटरफाइनल खेलमा म्याग्दीले स्याङ्जामाथि टाइब्रेकरमा ४–३ को जित निकाल्न सफल भयो । निर्धारित समयमा दुवै टिमको २-२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । स्याङ्जाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि म्याग्दीको जित सहज बनेको थियो । यता म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो ।
निर्धारित समयमा बलियो मानिएको स्याङ्जालाई म्याग्दीले आक्रामक खेल खेल्दै ३२ मिनेटमा उक्त टोलीका सुमन पुनले अग्रता दिलाए भने ठिक तीन मिनेटपछि मनिष श्रेष्ठले टिमका लागि अर्को गोल थपे । खेलको मध्यान्तरपछि स्याङ्जा खेलमा फर्कियो । स्याङ्जाका लागि सोम गुरुङ र अनिश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए ।
कास्कीले आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै नवलपुरविरुद्धको खेल ४-० गोलले जितेको छ । खेलको ३३औँ मिनेटमा विक्रम गौतमले नवलपुरविरुद्ध गोल गर्दै कास्कीलाई अग्रता दिएका थिए । अभिषेक थापाले खेलको दोस्रो हाफमा दुई गोल गरे । उनले ४५औँ र ४८औँ मिनेटमा गोल गरे भने ५४औँ मिनेटमा किशन गुरुङले कास्कीका लागि चौथो गोल गरे ।
आयुष खड्काको ह्याट्रिकमा पर्वतविरुद्ध बागलुङले ४-० को सहज जित निकालेको छ । आयुषले खेलको ४२, ४९ र ७८औँ मिनेटमा गोल गरे । यस्तै निश्चल महतले ७१औँ मिनेटमा चौथो गोल थपेपछि बागलुङले सहज निकालेको हो ।
यसैगरी अन्तिम क्वाटरफाइनलमा तनहुँले लमजुङविरुद्धको खेल ५-० ले जितेको छ । गोरखाविरुद्ध पहिलो खेल जितेको तनहुँले क्वाटरफाइनलमा लमजुङलाई पराजित गरेको हो । तनहुँका सन्तबहादुर गुरुङले ह्याट्रिक पूरामात्रै गरेनन् उनले चार गोल गरे । सन्तले १८, ५६, ६५ र ७८ मिनेटमा गोल गरे भने सौगात गुरुङले खेलको ३३औँ मिनेटमा एक गोल थपे ।
सङ्घका महासचिव विनोद गुरुङले आइतबार सेमिफाइनलका खेलहरू सञ्चालन हुने जानकारी दिनुभयो । प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु दुई लाख र उपविजेताले नगद रु एक लाखका साथमा ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताबाट दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुने आयोजकले जनाएको छ । प्रतियोगिता यही जेठ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लामध्ये मुस्ताङबाहेक १० जिल्लाको सहभागिता रहेको छ ।