सांसदहरुद्वारा सदनमा बजेटका विविध पक्षको मिहिन विश्लेषण

  जेठ २२, २०८१

काठमाडौँ, २२ जेठ : सत्तापक्ष र प्रतिपक्षका सांसदले आगामी आर्थिक वर्षको बजेटलाई मिहिन रुपमा विश्लेषण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको कर प्रणालीमा विरोधाभाष देखिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उहाँले बजेटले कर छल्ने अवस्थाको अन्त्य गरी स्वस्फूर्तरुपमा कर तिर्ने वातावरण बनाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिद्धान्तबाहिरको कर लगाइयो भन्ने आरोप छ, आम्दानी र नाफा नहुने ठाउँमा कर लगाइयो भन्ने टिप्पणी छ, यसमा अर्थमन्त्रीले जवाफ दिनुपर्छ ।” वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउने योजना बजेटमा समावेश नभएको उहाँको टिप्पणी थियो । “कार्यक्रम बिना कृषि दशक घोषणा गरिएको छ, बाँझो जमिनको सदुपयोग गर्ने कार्यक्रम आउन सकेन”, उहाँले भन्नुभयो ।

बजेट महत्वाकांक्षी छ
नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेट यथार्थमा आधारित नभई महत्वाकांक्षी भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले बजेट वर्तमान आवश्यकतामा केन्द्रित नभएको र महत्वकांक्षी भएको टिप्पणी गर्नुभयो । “निराशालाई आशामा परिणत गर्ने दिशा यस बजेटले दिन सकेको छैन,” उहाँले भन्नुभयो । सांसद केसीले बजेटको आकार ठूलो भएको र घाटा बजेट हुने स्थिति भएको टिप्पणी गर्दै चालु खर्चमा निर्मम कटौती देखाउन नसकेको जनाउनुभयो । उहाँले पूँजीगत खर्च गर्न नसक्ने संयन्त्रलाई सक्षम बनाउन र निजी क्षेत्रलाई हतोत्साहित नगर्न आग्रह गर्नुभयो ।

बजेटमार्फत आर्थिक सुधारको नयाँ चरण घोषणा
आजकै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा।स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधारको नयाँ चरण घोषणा गरेको बताउनुभयोे । उहाँले सन्तुलितरुपमा बजेट प्रस्तुत भएको बताउनुभयो । बजेटले आर्थिक रुपान्तरणको स्पष्ट लक्ष्य किटान गरेको उल्लेख गर्दै उहाँले रोजगारी र उत्पादन वृद्धि, सूचना प्रविधि सेवा निर्यातबाट आर्थिक समृद्धि सम्भव भएको बताउनुभयो । ऊर्जा, कृषिलगायत क्षेत्रको विकासका लागि बजेटले स्पष्ट खाका कोरेको जनाउँदै उहाँले भरतपुर, पोखरा बुटवललाई जोडेर घोषणा गरिएको गण्डकी आर्थिक ‘त्रिभुज’ले आर्थिक वृद्धिको लक्ष्य हाँसिल गर्न सघाउने बताउनुभयो ।

‘बजेट सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
सांसद रामकुमार राईले आगामी आर्थिक वर्षको बजेट नेपाली जनताको विश्वास जित्नेगरी ल्याइएको बताउनुभयो । बजेटका पाँच प्राथमिकताले विद्यमान चुनौतीलाई समाधान गर्ने विश्वास व्यक्त गर्दै उहाँले बजेट कार्यान्वयन भने चुनौतीपूर्ण हुने बताउनुभयो । (रासस)

तपाईको प्रतिक्रिया