आर्मीले बुढानिलकण्ठलाई हरायो

  जेठ २०, २०८१

काठमाडौँ, २० जेठ : राजधानीमा जारी आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुढानीलकण्ठ भलिबल क्लवलाई पराजित गरेको छ ।

त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले बुढानीलकण्ठ भलिबल क्लवलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले खेलको पहिलो सेट २५-१५ ले जित्यो भने खेलको दोस्रो सेट २५-२० ले आफनो पक्षमा पार्‍याे । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट २५-२० ले जित्यो । प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३-० को सेटमा पराजित गरेको थियो ।

जितसँगै आर्मीले दुई खेलमा ६ अङ्क जोडेको छ । दुई खेल खेलको बूढानीलकण्ठ अङ्कविहीन छ । बूढानीलकण्ठ पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-१ सेटमा पराजित भएको थियो ।

यसैगरी आज नै सम्पन्न महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लवले न्यू डायमन्ड स्पोर्टस क्लवलाई ३-१ तथा एभरेस्ट भलिबल क्लवले कर्णाली प्रदेशलाई ३-० को सेटमा पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया