‘सिप मेला’को पहिलो चरण शुक्रबार सकिँदै

  जेठ ०३, २०८१

काठमाडौं, ३ जेठ : टुँडिखेलमा जारी ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिको तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ। काठमाडौँ महानगरले सञ्चालन गरेको उक्त मेलाको पहिलो चरणमा एक हजार ५०५ जनाले तालिम लिएका छन् । 

१५ दिनको अवधिका लागि एक हजार ५७७  जनाको लागि कोटा छुट्याइएको थियो। छुट्याइएको कोटा भन्दा केही कम व्यक्तिले तालिम लिएका छन् । शुक्रबार सम्पन्न हुने तालिमका प्रशिक्षार्थीको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण अहिले जारी रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

अभिमुखीकरण अन्तर्गत बिहीबार ६४६ जनालाई कार्यक्रममा सहभागी गराइएको छ। दोस्रो चरणको तालिम आगामी जेठ ६ गतेबाट सञ्चालन हुनेछ । जसको लागि एक हजार १३५ जनाको कोटा रहेको छ। जसका लागि एक हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन आग्रह गरिएको महानगरले जनाएको छ । 

सिप मेलामा विभिन्न १२ वटा क्षेत्रमा झन्डै ४० पेसागत तालिम उपलब्ध छ। हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, अटो मोबाइल, निर्माण क्षेत्र, सूचना प्रविधि, मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियन, आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चर, गार्मेन्ट्स, ब्युटिसियन, डिजाइनिङ, पुरोहित विषयसमेत समेटिएको छ ।

सहभागीले आफ्नो इच्छाअनुसार जुनसुकै तालिम लिन पाउँछन्। महानगरले आयोजना गरेको निःशुल्क तालिममा विद्यार्थी, गृहिणीदेखि वर्षौँ विदेश बसेर स्वदेश फर्किएका व्यक्तिसमेत सहभागी हुनेगरेका छन् ।

तपाईको प्रतिक्रिया