राष्ट्रिय महिला टी–२० : एपिएफको दोस्रो जित

  बैशाख ३१, २०८१

काठमाडौँ, ३१ वैशाख : सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले हराउँदै ललितपुर मेयर्स कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ ।

एपिएफले यसअघि भएको पहिलो खेलमा कोशी प्रदेशलाई २४ रनले पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो ।

एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३५ रन बनाइन् । यसैगरी, इन्दु बर्माले १७, कप्तान सीता रानमगरले ११ र राजमती ऐरीले अविजित १० रन जोडे । बागमतीका लागि खुशी डङ्गोलले १ विकेट लिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो । बागमतीका लागि हेनिशा गुरुङले ३१ र खुशी डङ्गोलले अविजित १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

एपिफका लागि करुणा भण्डारीले चार विकेट लिइन् भने सीता रानामगरले दुई विकेट लिइन् । यस जितसँगै एपिएफले २ खेलबाट ४ अङ्क जोडेको छ । दुवै खेलमा पराजित बागमती अङ्कविहीन छ । बागमती पहिलो खेलमा आयोजक ललितपुर मेयर्स ११ सँग ७ विकेटले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया