दमक (झापा), २९ वैशाख : झापाको शिवसताक्षी नगरपालिकाका दुई खेलाडी अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने यु–१३ फुटबलका लागि छनोट भएका छन् । छनोट हुनेमा शिवसताक्षी–७ का आयुश भट्टराई र शिवसताक्षी–१० का रुप्लीहाङ लिङ्देन रहेका छन् ।
शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिगालुङ्गका अनुसार शिवसताक्षी नगरबाट पाँच खेलाडी जिल्ला, प्रदेशहुँदै छनोट भएका हुन् । उनीहरुलाई एन्फा एकेडेमीमा फुटबल प्रशिक्षणसहित पढ्ने व्यवस्था गरिएको छ ।
एन्फाले ग्रामीण र स्थानीय स्तरबाट खेलाडी पहिचान गरी राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ छनोट प्रतियोगितामार्फत खेलाडी छान्दै आएको छ । छनोट प्रतियोगितामा शिवसताक्षीका ६२ युवा खेलाडी सहभागी भएका थिए । “बाह्र खेलाडी जिल्लाका लागि छनोट भएकामा पछि जिल्लाबाट प्रदेशमा ६ जना छनोट भएका थिए, अन्तिममा दुई खेलाडी छनोट हुन सफल भएका छन्”, शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष रिगालुङ्गले भन्नुभयो ।
राष्ट्रिय फुटबल टोलीबाट खेलेका अनन्त तामाङ्ग, सन्दिप राई, सन्तोष नेपाली, ईश्वर कार्कीलगायतले खेलिसकेका छन् । उनीहरु शिवसताक्षी नगरपालिकाका बासिन्दा हुन् ।