काठमाडौँ, २९ वैशाख : नेपालमा नेपालीबाहेक अन्य भाषामा निकै कम सङ्ख्यामा चलचित्र निर्माण हुने गरेका छन् । तराई क्षेत्रमा चलचित्र भवनको सङ्ख्या राम्रो भए पनि त्यहाँ हिन्दी र भोजपुरी भाषामा तयार भएका चलचित्रको दबदबा देखिन्छ । स्थानीयरुपमा बोलिने मैथिली भाषामा भने निकै कम चलचित्र निर्माण भएका छन् ।
नेपाली र भोजपुरी जस्तो पूर्ण तयारी भएर चलचित्र नबनेको विश्लेषण साहित्यकार तथा गीतकार धीरेन्द्र प्रेमर्षिको साहित्यिक नामले परिचित धीरेन्द्र झाले गर्नुभयो । उहाँले ससाना भिडिओ चलचित्र बनेको पाइए पनि अन्य भाषाको जस्तो ठूला चलचित्र नबनेको बताउनुभयो ।
“यहाँ आट गरेर चलचित्र बनाउने लगानीकर्ताको अभाव देखिएको छ । भाषा र साहित्यसँगै समुदायप्रति दायित्व बोध गर्नेको अभाव हुँदा पछिल्लो समय आफ्नै चलचित्र छैनन् । यहाँ तयार भएका प्राविधिक वा चलचित्रमा काम गर्नसक्ने योग्य व्यक्ति पनि काठमाडौँ र मुम्बईमा व्यक्त छन्”, साहित्यकार झाले भन्नुभयो ।
उहाँले बजार ठूलो भए पनि मैथिली भाषामा चलचित्र नबन्नु दुःखद् रहेको बताउनुभयो । उहाँलाई ‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’ नामक मैथिली भाषामा बनेको चलचित्र स्मरण छ । जसले बलिउडका ठूला चलचित्रको शो हटाउनसमेत सफल भएको थियो ।
उक्त चलचित्र महिनौँ प्रदर्शन गरिएको थियो भने चलचित्र भवनसम्म ट्याक्टर, टायर गाढामा चढेर दर्शक पुगेका थिएँ । उक्त चलचित्रलाई मुरलीधरले निर्देशन गर्नुभएको थियो । भारतीय कम्पनीले निर्माण गरेको थियो भने नेपालमा प्रदर्शन अधिकार निर्देशक मुरलीधरले लिनुभएको थियो ।
“त्यो चलचित्रपछि केही प्रयास भए तर कलाकारले सफलता पाएनन् । हामी जस्ता साहित्यप्रेमी वा कलाकारले गर्ने प्रयास रहर मात्र हो । व्यावसायिकरुपमा अगाडि नबढेसम्म मैथिली चलचित्रले दर्शकलाई तान्न सक्दैन”, साहित्यकार झाले भन्नुभयो ।
उहाँले पछिल्लो समय डिजिटल प्लेटफर्ममा उपलब्ध ‘ज्याक्सन हल्ट’,‘गामक घर’, ‘ललका पाग’ जस्ता चलचित्र हेर्नुभएको छ । उल्लेखित चलचित्रबाट नाट्यकर्मी रमेश रञ्जन झा पनि आशावादी हुनुहुन्छ । नेपालमात्र नभई भारतमा पनि उल्लेख्यरुपमा मैथिली चलचित्र निर्माण हुन् नसकेको उहाँको बुझाइ छ ।
“छोटा चलचित्र बनेका छन्, तर ठूला चलचित्र नबन्दा यहाँका जनशक्ति बाहिरका उद्योगमा गएर काम गरिरहेका छन् । तर हामी आशावादी छौँ । किनकी अब नयाँपुस्ताले नवीतम सोच र कथा ल्याउने छन् । किनकी यो वीरगञ्जदेखि जनकपुर हुँदै तयारको बजारलाई लक्षित गर्दै कसैले त अवश्य प्रयास गर्नेछन्”, झाले भन्नुभयो ।
उहाँले यसका लागि राज्यसहित सम्बन्धित निकायले प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न भाषाभाषीको चलचित्रमार्फत नेपालभर छरिएको बजारलाई एकत्रित गर्न सकिन्छ । किनकी तराईमा नेपाली चलचित्रको बजार पनि राम्रो छैन ।”
केही समय अगाडि मैथिली भाषामा निर्माण गरेर नेपाली र भोजपुरीमा स्वराङ्कन गरेर प्रदर्शन गर्ने घोषणा गरिएको चलचित्र ‘लेबर’ ले नयाँ अध्यायको सुरुआत गर्नसक्ने विश्वास मैथिली चलचित्रकर्मीको छ । यसका निर्देशक पुर्णेन्दु के झाले बजार खोज्ने प्रयासमा सुरुआत गर्न लागिएको बताउनुभयो ।
“मैले चलचित्रसम्बन्धी अध्ययन गरेर नेपाली भाषाको चलचित्र बनाएँ । तर, यतिबेला हामी तराईबाट प्रतिनिधित्व गर्नेले मैथिली भाषाका लागि चलचित्र बनाउनु आवश्यक देखेर तयारी गरिरहेको छु । अघिल्ला दुई चलचित्रको अनुभवले यसलाई भव्य बनाउने कोसिस गर्ने छु”, निर्देशक झाले भन्नुभयो ।
उहाँले मैथिली भाषासँगै तराईमा देखिएको श्रमिक र वैदेशिक रोजगारीको समस्यालाई चलचित्रको कथा बनाउनुभएको छ । यसमा मिथिलामा नाटक गरेका अभिनेता उत्पल झा, रवीन्द्र झालगायतका कलाकार तय भएका छन् । नेपाली चलचित्र, भोजपुरी चलचित्रमा देखिएका कलाकारसँगै मैथिली भाषामा दख्खल राख्ने कलाकार चलचित्रमा देखिने निर्देशक झाले जानकारी दिनुभयो ।
“म चलचित्रलाई व्यावसायिकरुपमा तयार गरेर प्रदर्शन गर्ने तयारीमा छु । यसले लगानीकर्तालाई आकर्षित गर्नेछ । लेबर मैथिली चलचित्रका लागि आउँदो दिनमा कोशेढुङ्गा सावित हुनेछ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो ।