मार्सेली (फ्रान्स), २७ वैशाख : स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी बन्दरगाह सहर मार्सेलीका सडकमार्फत ओलम्पिक ज्वाला बोक्नेछन् ।
पेरिसमा जुलाई २६ मा ओलम्पिक खेलकुदको उद्घाटन समारोहसम्ममा चार सय ५० भन्दा बढी सहर हुँदै करिब १० हजार मसालवाहकले मुलुकभर ११ साताको यात्रा सुरु गर्नेछन् ।
सन् १९९० को दशकमा मार्सेली टिमबाट खेल्ने पूर्वफुटबल खेलाडी बेसिल बोलीले बिहीबारको पहिलो रिले नोट्रे डेम डे ला गार्डे बेसिलिकाबाट सुरुआत गर्नेछन् ।
बास्केटबल खेलाडी टोनी पार्करले बिहीबारपछि रिलेमा आफ्नो पालो लिनेछन् । मसाल बोक्नका लागि एक तरबारबाज च्याम्पियन, एक स्केटबोर्डर, एक मिसेलिन–ताराङ्कित सेफ र एक हास्य अभिनेतालाई पनि छनोट गरिएको छ ।
मार्सेलीका उत्साही फुटबल प्रशंसकहरूको घर प्रसिद्ध स्टेड वेलोड्रोमको छतमा मसाल लैजानका लागि सहभागीहरूले सहरको सबैभन्दा प्रतीकात्मक स्थानहरूमार्फत दिनभर दौडिने तालिका छ ।
सहरले बुधबार ओलम्पिक ज्वालाको आगमनको खुशियाली धुमधामसँग मनायो । मार्सेलीका मेयर बेनोइट पायनले ओल्ड पोर्टमा दुई लाख ३० हजारभन्दा बढी मानिस समारोहमा सहभागी भएको बताउनुभयो ।
“यो अविश्वसनीय र जादुमय छ, हामीलाई यसको आवश्यकता थियो, हामीसँग मार्सेलीमा यस्तो प्रकारको घटना वा सुन्दर चिजहरू कहिल्यै हुँदैनन्”, मार्सेलीका बासिन्दा अमेल सेकोले भन्नुभयो ।
“यो यस्तो चिज हो जुन तपाईंले आफ्नो जीवनमा कम्तीमा एक पटक अनुभव गर्नुपर्छ…हामीसँग सूर्य र ओलम्पिक ज्वाला छ”, मार्सेलीका अर्का बासिन्दा मौना बौल्हासले भन्नुभयो ।
खेलहरूको समयमा मार्सेलीमा नौकायान प्रतियोगिता र केही फुटबल खेल आयोजना हुनेछन् । (रासस/एएफपी)