कञ्चनपुर, ९ वैशाख : राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल निर्माण प्रारम्भ भएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रकम व्यहोर्नेगरी रु दुई करोड ६६ लाख ४९ हजार पाँच सय ५४ को लागतमा कभर्डहल निर्माण प्रारम्भ भएको हो ।
नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख इन्जिनीयर दीपक धामीका अनुसार ठेक्का सम्झौता भएको ११ महिनामा निर्माणको भौतिक प्रगति ६५ प्रतिशत भएको छ । आर्थिक प्रगति २२ प्रतिशत छ । “कभर्डहलमा डबल ब्याडमिन्टन कोर्ट, भलिबल कोर्ट, एक सय ५० जना बस्नमिल्ने प्यारापिट निर्माण हुनेछ”, उहाँले भन्नुभयो ।
कभर्डहल सञ्चालनमा आएपछि खेलाडीलाई अभ्यास गर्न सहज हुने पूर्वखेलाडी तथा तत्कालीन झलारी गाउँपालिकाका अध्यक्ष टेकबहादुर हमालले बताउनुभयो ।