काठमाडौँ, २४ फागुन : हङकङमा मार्च १० देखि १३ तारिखसम्म आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । यस सिरिजमा आयोजक हङकङ, नेपाल र पीएनजीको सहभागिता रहनेछ ।
नेपाली टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपाल क्रिकेट सङ्घका पदाधिकारीले बिदाइ गर्नुभयो । नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि टी–२० सिरिज खेल्न लागेको हो ।
क्यानले यस सिरिजका लागि क्रिकेट टोलीको घोषणा यसअघि नै गरिसकेको छ । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अविनाश बोहोरा, राशिद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम हुनुहुन्छ ।
यसपटक दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई आराम दिइएको छ । नेपालले सिरिजअघि हङकङसँग मार्च ९ तारिख एउटा टी–२० फ्रेन्डसिप कप पनि खेल्नेछ ।
सिरिजमा पनि नेपालले पहिलो खेल मार्च १० मा हङकङसँग खेल्नेछ । घरेलु मैदानमा हालै सम्पन्न नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएको थियो । नेपाली टोली बिहीबार राति नै हङकङ प्रस्थान गर्नेछ ।