एभरेष्ट चिनी मिलमा उखु क्रसिङ सुरु

  पुष ०९, २०८०

बर्दीबास, ९ पुस : महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको एभरेष्टले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गरि दुई हजार २ सय क्विन्टल चिनी उत्पादन गरेको मिलको प्रशासन शाखाले जनाएको हाे । 

एभरेष्टले मङ्सिर २५ गतेदेखि नै मिल सञ्चालनको तयारी गरेको थियो । तथापि मूल्य निर्धारणको विषयलाई लिएर उखु किसान आन्दोलनमा उत्रेका कारण निर्धारित समयमा मिल सञ्चालन हुन सकेको थिएन । सङ्घर्षरत किसानले बिहिबार विज्ञप्ति जारि गर्दै आन्दोलन रोकेपछि करिव दुई साता ढिलो गरी क्रसिङ सुरु भएको हो । 

क्रसिङमा ढिलाई हुँदा मिलगेटमा आइपुगेका करिव दुई हजार ५०० क्विन्टल उखु सुकेर गएको एभरेष्ट चिनी मिलका महाप्रवन्धक सुरेन्द्र शुक्लाले दुखेसो गर्नुभयो । यस वर्षको क्रसिङ सिजन (२०८०-८१) मा न्यूनतम ३० लाख क्विन्टल उखु क्रसिङ गरी दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य रहेको महाप्रवन्धक शुक्लाले जनाउनुभयो । यसमध्य १८ लाख क्विन्टल उखु महोत्तरीबाट करिव १० लाख क्विन्टल सर्लाहीबाट तथा बाँकी उखु धनुषा, रौतहट र बारा जिल्लाबाट आपूर्ति गरिने उहाँले बताउनुभयो । 

क्रसिङका लागि आवश्यक उखु मिल गेटमा २० लाख क्विन्टल र कारखाना परिसर बाहिर महोत्तरी र सर्लाहीका ग्रामीण भेगमा रहेका ३३ वटा खरिद केन्द्रमार्फत् १० लाख क्विन्टल उखु आपूर्तिको व्यवस्था मिलाईएको एभरेष्टले जनाएको छ । यसका लागि खरिद केन्द्रहरुमा परिचालित प्राविधिज्ञ र कर्मचारीहरुले सम्वद्ध कृषकहरुलाई धमाधम चलान पूर्जी वितरण गरिरहेको उहाँले जनाउनुभयो। 

“उखुको आपुर्ति पनि अपेक्षित ढङ्गमा भइरहेको छ,” महाप्रवन्धक शुक्लाले भन्नुभयो । गत वर्ष एभरेष्टले क्रसिङ सिजन (०७९-८०) २६ लाख ३० हजार ७४७ क्विन्टल उखु क्रसिङ गरी २ लाख ४२ हजार ३ क्विन्टल चिनी उत्पादन गरेको थियो । यस वर्ष उखुको उत्पादन र खेतीको क्षेत्रफल बढेकाले गत वर्षको तुलनामा ४ लाख क्वीन्टल बढी उखु क्रसिङको लक्ष्य लिएको महाप्रवन्धक शुक्लाले जनाउनुभयो । 

यस वर्षदेखि उखु किसानलाई छिटोछरितो भुक्तानीको व्यवस्था मिलाएको दावी गरिएको छ । यो व्यवस्थाले किसानमा उत्साह बढ्ने एभरेष्टको आङ्कलन छ । “किसानको सहुलिएतका लागि उखु तौल गराएको ४ दिनभित्रै सम्वद्ध कृषकको खातामा भुक्तानीको व्यवस्था मिलाएका छौं,” महाप्रवन्धक शुक्लाले भन्नुभयो । गएको वर्ष पनि कारखानाले एक साताभित्र उखुको भुक्तानी गरेर किसानमा भरोसा जगाएको उहाँको आङ्कलन छ ।

चिनी मिल सञ्चालनमा आएपनि माग अनुसारको मूल्य नपाउँदा उखु किसान भने निराश देखिएका छन् । यो नैराश्यताको असर आगामी वर्षको उखु खेतीमा पर्ने उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवहाले जनाउनुभयो । 

सरकारले गत वर्ष उखुको ५४० रुपियाँमा २५ रुपियाँ मात्रै थप गरी प्रति क्विन्टल ५६५ रुपियाँ कायम गरेको छ । यो वृद्धिसँगै सरकाले दिने ७० रुपियाँ समेत जोड्दा उखुको मूल्य प्रति क्विन्टल ६३५ रुपियाँ कायम भएको छ । उखु किसानले भने बढ्दो महङ्गीका कारण उखुको मूल्य प्रति क्विन्टल ७५० रुपियाँ माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका थिए । 

“सरकारले हचुवाको भरमा बढाएको मूल्यप्रति असन्तुष्ट किसानले आउँदो वर्षदेखि उखु खेती छाड्ने सम्भावना देखिएको छ,” कुशवहाले भन्नुभयो, “खेतमै सुकेर जाने कारण यो वर्ष किसानले बाध्यतावश चिनी मिललाई उखु दिएका हुन् ।”

एभरेष्ट चिनी मिलका प्रमुख उखु महाप्रवन्ध (क्यान म्यानेजर) बीके यादवकाअनुसार महोत्तरीका ८ हजार कृषकले यो वर्ष ७ हजार विग्हामा उखु खेती लगाएका गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया