अंगदानका निम्ति सबैलाई प्रोत्साहित गरौँ : प्रधानमन्त्री

  पुष ०७, २०८०

काठमाडौँ, ७ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपिल गर्नुभएको छ । शनिबार बिहान काठमाडौँमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु–मरेपछि खरानी भएर जाने अङ्गहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मिर्गौला, मुटु, फोक्सो लगायतका अङ्ग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ, अङ्ग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपिल गर्दछु ।’’

सम्बोधनको पूर्ण पाठ : 

सर्वप्रथम सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा उपस्थित भई आफ्ना विचारहरू राख्ने अवसरका निम्ति यहाँहरूमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु।

आजको यस सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाका दृष्टिले निकै महत्त्वपूर्ण र रचनात्मकसमेत छ। नेपालको अङ्ग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलताहरू सम्बोधन गर्दै आगामी दिनमा थप प्रभावकारी सेवा प्रवाह गर्न यो सम्मेलन कोशेढुंगा हुने विश्वाससमेत व्यक्त गर्दछु। 

मानव अङ्ग प्रत्यारोपणका विज्ञ एकै ठाउँ भेला भएर प्रत्यारोपण सम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान एवम् प्रत्यारोपणका क्षेत्रमा देखिएका चुनौतीहरू सम्बोधनका दृष्टिले यो सम्मेलन समग्र देशको स्वास्थ्य सेवाका दृष्टिले समेत दूरगामी महत्वको छ। यसका निम्ति नेपाल सरकारको तर्फबाट खुसी व्यक्त गर्दै सबै विद्वान् चिकित्सकहरूमा अभिवादन व्यक्त गर्दछु।

सामूहिक छलफल र अन्तरक्रियाका आधारमा सम्मेलनले दिने सुझाव र निकाल्ने निष्कर्ष स्वास्थ्य सेवामा गुणात्मक रूपान्तरणका निम्ति महत्त्वपूर्ण हुनेछ। तसर्थ, सम्मेलनका सुझाव र निष्कर्षअनुसार यस क्षेत्रमा गर्नुपर्ने सुधारका निम्ति नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी गराउँछु। 

मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा नै राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रलाई बिस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरिएको थियो। गत वर्ष पनि मैले यसबारे प्रतिबद्धता व्यक्त गरिसकेको छु। तसर्थ, मेरो यही कार्यकालमा यससम्बन्धी बाँकी काम टुङ्गोमा पुर्‍याउन सरकार प्रतिबद्ध छ। 

मस्तिष्क मृत्युपछि अंगदान गर्नेसम्बन्धी विषयमा राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको प्रयास सराहनीय छ। मस्तिष्क मृत्युपछि अंगदान गर्न आम सर्वसाधारण हिचकिचाइरहेको देखिन्छ। म स्वयंले पनि अंगदान गर्ने घोषणा यसअघि नै गरेको छु। सबै दाजुभाइ दिदीबहिनीहरूमा म आह्वान गर्दछु– मरेपछि  खरानी भएर जाने अङ्गहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन्। मानव हुनुको नाताले कलेजो, मिर्गौला, मुटु, फोक्सो लगायतका अङ्ग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीहरूलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो। तसर्थ, अङ्ग प्रत्यारोपणको यस राष्ट्रिय अभियानबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा हार्दिक अपिल गर्दछु।

यस सन्दर्भमा अङ्ग फेल भई मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने यस महान् अभियानलाई प्रवर्द्धन गर्न नेपाल सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रतिविद्धतासमेत व्यक्त गर्दछु।

अन्त्यमा, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीहरू सम्मिलित महत्त्वपूर्ण कार्यक्रमको आयोजनाका निम्ति आयोजक संस्थाहरू र डा। पुकारचन्द्र श्रेष्ठको टिमलाई धन्यवाद व्यक्त गर्दछु। फेरि एक पटक तपाईँहरूको यो भव्य, दूरगामी महत्वको रचनात्मक सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन्छु।

धन्यवाद

तपाईको प्रतिक्रिया