नवलपुर, ५ पुस : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित ‘अन्तर कलेज टि–२० क्रिकेट’ प्रतियोगिताको उपाधि गैँडाकोटको अक्सफोर्ड कलेज जितेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा नवलपुरको देवचुली माविलाई आठ विकेटले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको देवचुली माविले निर्धारित खेलमा १६ दशमलव दुई ओभर खेल्दै सबै विकेटको क्षतिमा ११० रन बनाएको थियो । १११ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको अक्सफोर्ड कलेजले १४ दशमलब एक ओभर खेल्दै दुई विकेटको क्षतिमा ११३ रन बनाएर उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
अक्सफोर्डको जितका लागि ब्याटर सुवास दवाडीले ३८ बलमा छ छक्का र तीन चौकासहित अविजित ५५ रनको योगदान दिए । त्यस्तै, प्रवेश भण्डारीले २७ बलमा तीन रन, प्रविण ढकालले आठ बलमा १२ रन तथा पवन सापकोटाले नौ बलमा अविजीत छ रनको योगफल तयार पारे ।
बलिङतर्फ देवचुली माविका सुदीप अर्यालले चार ओभरमा २८ रन खर्चिदै एक विकेट तथा दिवस पौडेलले दुई ओभरमा १२ रन खर्चिदै एक विकेट लिए । प्रतियोगितामा देवचुली माविका ब्याटर विमल लुइँटेलले ३० बलमा ३४ रन, सुदीप अर्यालले १० बलमा १९ रन र शिव चापागाईंले नौ बलमा १३ रनको योगफल तयार पारे ।
प्रतियोगितामा देवचुली माविका अन्य ब्याटरले दोहोरो अङ्क जोड्न नसक्दा उसले हार बेहोर्न पर्यो । बलिङतर्फ अक्सफोर्ड कलेजका सिजल श्रेष्ठले चार ओभरमा १८ रन खर्चिदै पाँच विकेट, दीपेन्द्र आचार्यले तीन दशमलव दुई ओभरमा १४ रन खर्चिदै तीन विकेट लिन सफल भए ।
प्रतियोगिताको विजेता अक्सफोर्ड कलेजले नगद रु ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता देवचुली माविले नगद रु २५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा अक्सफोर्ड कलेजमा सिजल श्रेष्ठलाई म्यान अफ द म्याच, प्रवेश भण्डारीलाई बेष्ट ब्याटर, दीपेन्द्र आचार्यलाई बेष्ट बलर र सुवासचन्द्र दवाडीलाई म्यान अफ दी सिरिजबाट सम्मान गरियो ।
प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी तथा विशिष्ट अतिथि अक्सफोर्ड कलेजका प्राचार्य प्राध्यापक इञ्जिनियर हरि भण्डारीले पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा विजेता र उपविजेता हुने दुवै समूहका ४० जनाको लागि आई एम ई समूहको लगानीमा निर्माण गरिएको मौलाकालिका केवलकार प्रालिले निःशुल्क केबलकारको टिकट उपलब्ध गराएको थियो ।
गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले खेलले देशलाई चिनाउने भन्दै आगामी दिनमा यस्ता प्रतियोगिता आयोजना हुनुपर्ने बताउनुभयो । उहाँले नगरमा खेलकुदको विकासका लागि आफूले पहल गरिरहेको बताउनुभयो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनका ३४ वटा शैक्षिक संस्थाको सहभागिता थियो ।