काठमाण्डौ, १९ मंसिर : सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने थप पाँच वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयको हिजो बसेको बैठकबाट भएको निर्णय अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ अनुसार पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेर कारबाही गरेको हो ।
विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयले जनाएको छ । कालोसूचीमा पर्नेमा भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जे.भी काठमाण्डौ, मैनाचुली–सिद्धि साई जे.भी काठमाण्डौ, शेर्पा/हेना/सुनामी जे.भी नुवाकोट, कास्र्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाण्डौ र इजोन निर्माण सेवा जुम्ला रहेका छन् ।
भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जे.भीलाई तीन वर्ष, मैनाचुली–सिद्धि साई जे.भीलाई दुई वर्ष र शेर्पा/हेना/सुनामी जे.भी, कास्र्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स र इजोन निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले आज निकालेको सूचनामा उल्लेख छ ।
कालोसूचीमा राखिएको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् । कार्यालयले यसअघि गएको १५ गते १४ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको थियो ।