काठमाण्डाै, २ मंसिर : बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘मिडहिली’ कमजोर बन्दै गएको छ । यो चक्रवातले कोशी प्रदेशमा आंशिक प्रभाव पारेको तर आज बिहानदेखि चक्रवात कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । आज देशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिमलगायत आसपासका क्षेत्रमा मौसम सामान्य रहेको र चिसो बढ्नेक्रममा छ । ती क्षेत्रमा यो हप्ता ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । तर तापक्रम एकदेखि एक दशमलव ५ डिग्री सेल्सियसले घट्न सक्ने अनुमान छ । अरु बाँकी क्षेत्रमा मौसम सफा नै रहेको छ ।
काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम ९ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो ।