धनगढी, १७ कात्तिक : नेपाल सरकारबाट ५० र विकास समितिबाट ७५ गरेर सेती प्रादेशिक अस्पताल १२५ शय्याको स्वीकृत छ। तर, अस्पताल दुई सय ४५ शय्यामा सञ्चालनमा छ।
प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा २० वटा मात्र शय्या छन्। अस्पतालको आकस्मिकसहित अन्य कक्षमा समेत शय्या पाउन समस्या छ। अस्पतालको आकस्मिक कक्षमा बिरामीको सङ्ख्या धेरै हुन थालेपछि अस्पताल प्रशासनले शय्या थप गर्ने योजना बनाएको हो। अस्पताल प्रशासन माथिल्लो तलामा २५ शय्याको निगरानी कक्ष स्थापना गर्ने तयारी छ।
आकस्मिक कक्षका बिरामीका लागि अब ४५ वटा शय्या हुने भएका छन्। सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख डाक्टर शेरबहादुर कमरले सेती अस्पतालको माथिल्लो तलमा अब्जरबेसन (निगरानी) कक्ष स्थापना गर्ने बताए। उनले भने, ‘अब्जरबेसनका लागि २५ बेड तयार भएका छन्। इमर्जेन्सीका बिरामीका लागि हो। उहाँहरूलाई सम्बन्धित चिकित्सकहरूले उपचार गर्नेछन्।’
सेती अस्पतालको फार्मेसीमा समेत लाइन लाग्नुपर्ने बाध्यता छ। फार्मेसीमा सेवाग्राहीको चाँप कम गर्न कर्मचारी थप गर्ने योजनामा अस्पताल छ। तीनवटा काउन्टरबाट थप गरेर पाँच वटासम्म बनाउने तयारीमा अस्पताल प्रशासन छ। जेष्ठ नागरिक र अपाङ्गका लागि समेत छुट्टै औषधि खरिदका लागि काउन्टरको व्यवस्था गर्न लागिएको हो।
‘फार्मेसी काउन्टर तीनवटा मात्र छन्। अब दुई थप गर्ने तयारीमा छौ। जेष्ठ नागरिक र अपाङ्गता भएका लागि नयाँ काउन्टर थप्दैछौ,’ अस्पतालका प्रमुख डाक्टर कमरले भने। सेती प्रादेशिक अस्पतालको प्रयोगशालासमेत सर्ने भएको छ। कोरोना परीक्षणका लागि स्थापना गरिएको प्रयोगशाला भवनमा अस्पतालको पूर्ण प्रयोगशाला स्तान्तरणको तयारी थालिएको छ। साविकको स्वास्थ्य कार्यालयको भवनमा सेती अस्पतालको पूर्ण प्रयोगशाला हुने भएको छ।
अस्पतालको पुरानो भवनमा रहेको प्रयोगशालाका उपकरणहरू हस्तान्तरण गर्ने तयारीमा अस्पताल प्रशासन छ। निमित्त प्रमुख कमरले प्रयोगशाला स्वास्थ्य कार्यालयको पुरानो भवनमा सार्ने बताए। सुदूरपश्चिमको अस्थायी राजधानीमा रहेको सेती अस्पतालमा पार्किङको समेत समस्या छ। यसका लागि अस्पतालको आकस्मिक कक्ष अगाडीको पार्किङ क्षेत्रसमेत खाली गरिने भएको छ।
रेडक्रस सोसाइटीको भवन रहेको क्षेत्रमा नयाँ प्राकिङ्गको व्यवस्था गर्ने तयारी अस्पतालको छ। अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर (निर्मल) शाहले क्रमिक रूपमा अस्पतालका सेवा विस्तार गर्दै जाने बताए। उनले अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको समेत बताए।
सेतीको आकस्मिक कक्षमा २०, मेडिसिनमा ३६, आइसोलेसनमा चार, शल्यक्रियामा ४३, शल्यक्रियापछि बिरामी राख्न पाँच, बाल वार्डमा ३०, स्त्री तथा प्रसूतिमा ६०, प्रसूतिमा १५, सघन उपचार कक्षमा (आइसीयू) मा १५, एचडीयूमा चार, एनआईसीयूमा ९, एनआरएचमा १०, हेमो डाइलासिसमा १७, एक विशिष्ट कक्षमा एक शय्या र ६० कोरोना अस्पतालका शय्याहरू रहेका छन्।