इनरुवा, १५ कात्तिक : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आजदेखि प्रथम कोशी प्रदेश सभामुख कप सुरु भएको छ । समाज विकास केन्द्र, नेपालको आयोजनामा प्रथम कोशी प्रदेश सभामुख कप सुरु भएको आयोजक संस्थाका अध्यक्ष सेराज हुसेनले जानकारी दिनुभयो ।
उद्घाटन खेलामा रामधुनीको रामधुनी युवा क्लब झुम्कालाई शून्यको विरुद्ध १ गोलले पराजित गर्दै बराहक्षेत्रको राजाबास क्लब सेमिफाइनलमा प्रवेश गरेको आयोजकले जनाएको छ । बिहीबारको खेल इनरुवा फुटबल क्लब र इटहरीको शान्ति युवा स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।
पहिलो खेलमा जीत हात पारेको राजाबास र १७ गतेको विजेतासँग १९ गते प्रतिस्पर्धा गर्नेछ । खेलको उद्घाटन प्रदेशसभा सदस्य हाजी इसराइल मन्सुरीले गर्नुभएको थियो । खेल कात्तिक २२ गतेसम्म हुनेछ । खेलमा समाज विकास केन्द्रसहित इनरुवाको मधेस क्लब, इनरुवा फुटबल क्लब, इटहरीको मधेली क्लब, शान्ति युवा स्पोर्टिङ क्लब, दुहवीको सिमरिया क्लब गरी आठ वटा टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष हुसेनले जानकारी दिनुभयो । उपाधि पाउने टिमले रु २५ हजार, सिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेता टिमले रु १५ हजार, सिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ ।