कञ्चनपुरको गाउँ-गाउँमा खेलकुद प्रतियोगिता

  कार्तिक १५, २०८०

महेन्द्रनगर (कञ्चनपुर), १५ कात्तिक : दसैँ–तिहारलगायत चाडपर्वको रौनकता छाएसँगै कञ्चनपुरमा खेलकुद गतिविधि सञ्चालनले व्यापकता पाएको छ । प्रायः हरेक वर्ष चाडपर्वका बेला हुने विभिन्न खेलकुद प्रतियोगिता यस वर्ष पनि स्थानीय तह, वडा र युवा क्लबको आयोजनामा यहाँ धमाधम सञ्चालन भइरहेका छन् ।

गत असोजको अन्तिम साता जिल्ला भलिबल सङ्घ र नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाको आयोजनामा पहिलोपटक महाकाली नदीमा रु एक लाख राशिको पुरुष खुला तथा भेट्रान बिचभलिबल प्रतियोगिता आयोजना भयो । त्यससँगै दोधारा चाँदनीमा स्थानीय अनलाइनको आयोजनामा रु ७५ हजार पुरस्कार राशिको डे–नाइट क्रिकेट प्रतियोगिता पनि सम्पन्न भएको छ ।

त्यसैगरी आगामी शुक्रबारदेखि शुभ दीपावलीको अवसर पारेर बेल्डाँडी गाउँपालिकामा क्रिकेट प्रतियोगिता हुने भएको छ । बेल्डाँडी समाजको आयोजनामा हुने प्रतियोगितामा उपाधि विजेताले रु ५५ हजार पाँच सय ५५ नगदसहित पुरस्कृत हुनेछ । बेल्डाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले युवालाई लागुऔषध दुव्र्यसनबाट टाढा राख्न युवाहरूको व्यस्तताको लागि पनि खेल आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्यको लागि खेलको महत्व रहेको जनाउँदै उहाँले बेल्डाँडीमा खेलाडीका लागि खेलमैदान आवश्यक रहेको र त्यसका लागि स्थानीय तहले पहल गरिरहेको बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका सदस्य एवं फुटबल खेलाडी विकास महताले कञ्चनपुरमा दक्षिण क्षेत्र र दोधारा चाँदनीमा दसैँअघिदेखि विभिन्न कप तथा प्रतियोगिता निरन्तर भइरहेको बताउनुभयो ।

“चाडपर्वका बेला भए पनि आयोजना हुने प्रतियोगिताले खेलाडी उत्पादन र खेलको विकासमा महत्त्वपूर्ण योगदान रहन्छ”, सदस्य महताले भन्नुभयो, “सदरमुकाम महेन्द्रनगरभन्दा पहिले ग्रामीण भेगमा खेल गतिविधि दोब्बरले बढेका छन् ।”

त्यसैगरी यहाँको लालझाडी गाउँपालिकामा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको आठौँ लालझाडी कप फुटबल प्रतियोगिता आयोजना हुँदैछ । आजदेखि सुरु हुन लागेको उक्त फुटबल प्रतियोगितामा १६ टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमले रु दुई लाख ५० हजार र उपविजेता टिमले नगद पुरस्कार रु एक लाख २५ हजारबाट पुरस्कृत हुनेछन् ।

त्यस्तै बेल्डाँडी गाउँपालिकामा केही समयअघि चाडपर्वलक्षित आयोजित बेलडाँडी फुटबल महोत्सव सम्पन्न भएको थियो । बेलडाँडी क्षेत्रकै ठूलो धनराशि रु एक लाख एक हजार एक सय ११ को फटुबलको उपाधीसहित नेपाल प्रहरीको टिम प्रथम भएको थियो ।

त्यसैगरी भीमदत्त नगरपालिका वडा नं १२ को आयोजनामा वडा कप क्रिकेट प्रतियोगिता ऐरीस्थित पूर्णा माध्यमिक विद्यालयमा जारी छ । वडा नं १२ का वडाध्यक्ष भूपेन्द्र रावलले प्रपितयोगितामा २८ वटा टिमको सहभागिता रहेको बताउँदै पाँचाँैपटक आयोजनक भएको संस्करणले क्रिकेटको विकासमा टेवा पुग्नेमा जोड दिनुभयो ।

“दीपेन्द्रसिंह ऐरी, भीम सार्की, सन्दीप जोरा र विनोद भण्डारीजस्ता खेलाडी हाम्रो नगरपालिकाका हुन्”, उहाँले भन्नुभयो, उहाँहरूजस्ता खेलाडी भएको भीमदत्तमा अहिले क्रिकेट चलायमान भएको छ ।”

उक्त प्रतियोगितामा उपाधि विजेता टिमले रु एक लाख ५१ हजार एक सय ११ सहित ट्रफी र मेडलबाट पुरस्कृत हुने वडाध्यक्ष रावलले जानकारी दिनुभयो । त्यसैगरी यहाँको शुक्लाफाँटा र दोधारा चाँदनी नगरपालिकामा पुनः फुटबल प्रतियोगिता आयोजनाको तयारी छ । बेलौरी नगरपालिकामा फुटबल आयोजना र बेलडाँडीमा भलिबल आयोजनाको तयारी रहेको खेलकुद विकास समितिका सदस्य महताको भनाइ छ । पछिल्लो समय स्थानीय पालिकादेखि वडास्तरसम्मले खेलकुदको विकासका लागि रकम विनियोजन गरिरहेकाले सहज भएको छ ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले जिल्लाभरि खेल गतिविधि सञ्चालन भइरहेको बताउनुभयो । “अहिले खेलकुदमय वातावरण बनिरहेको छ”, उहाँले भन्नुभयो, “अहिले पालिकादेखि गाउँ क्लब र सङ्घसंस्थाले दिएको प्राथमिकता सकरात्मक पक्ष हो ।” उहाँले खेलकुदका गतिविधिले नयाँ खेलाडी उत्पादनमा सहजीकरण भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया