दाङमा एक करोड १६ लाख बढीको खसीबोका बिक्री

  कार्तिक ०३, २०८०

घोराही, ३ कात्तिक : दाङमा दसैंको अवसरमा एक करोड १६ लाख बढीको खसी तथा बोका बिक्री भएका छन् । जिल्लाका तीनवटा सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैंका लागि एक करोड बढीको खसी बोका बिक्री गरेका हुन् ।

खाद्य तथा व्यापार कम्पनी र बाह्य व्यक्तिलाई ६ सय ३६ वटा खसी बिक्री गर्दा एक करोड १६ लाख ८ हजार एकसय ४२ रुपियाँको कारोबार भएको हो । खाद्य तथा व्यापार कम्पनीलाई सहकारी संस्थाले पाँचसय ८६ वटा खसी बोका बिक्री गरेका छन् । बाह्य व्यक्तिलाई ५० वटा बिक्री गरेका हुन् । 

लमही नगरपालिका –१ सुन्डबरीमा रहेको निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैं विशेष खसीबोका बजारीकरण कार्यक्रममा दुईसय १९ खसीबोका बिक्रीगर्दा ४१ लाख पाँच हजार दुई सय ८५ रुपियाँको कारोबार भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एकसय ९० र बाह्य २९ गरी जम्मा दुईसय १९ वटा खसीबोका बिक्री भएको सहकारी संस्थाका व्यवस्थापक पुनम भण्डारीले जानकारी दिनुभयो ।  

त्यसैगरी लमही नगरपालिका –७ कप्तानगञ्जमा रहेका दिन सामाजिक उद्यमी सहकारी संस्था लिमिटेडले दुईसय १२ वटा खसीबोका बिक्री गर्दा ३७ लाख ९३ हजार तीनसय ६७ रुपियँँको कारोबार गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई एकसय ९६ र बाह्य १६ गरी जम्मा दुईसय १२ वटा खसीबोका बिक्री भएको सहकारी संस्थाका अध्यक्ष पुनम घर्तीमगरले जानकारी दिनुभयो । 

लमही नगरपालिका –९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी सहकारी संस्थाले दुईसय पाँच खसीबोका बिक्री गर्दा ३७ लाख नौ हजार चारसय ९० रुपियाँको कारोबार भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुईसय र बाह्य पाँचगरी जम्मा दुईसय वटा खसीबोका बिक्री भएका हुन् । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ–तिहारको लागि सातसय ५५ वटा खसीबोका खरिद गरेर काठमाडौं पठाइसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो । शाखा प्रमुख सुनारले भन्नुभयो, ‘हामीलाई प्राप्त कोटा सातसय थियो । थप ५५ वटा गरेर सातसय ५५ वटा खसीबोका खरिदगरी काठमाडौं पठाएका छौं ।’ लमही नगरपालिकाको तीन स्थानबाट र तुलसीपुर कार्यालयबाट खसीबोका खरिद गरिएको थियो । गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया