मन्थली (रामेछाप), २८ असोज : नेपाल विद्यार्थी सङ्घ रामेछापले बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि मन्थलीमा सुरु भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको बागमती प्रदेशका नेपाली काङ्ग्रेसका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा मन्त्री लामाले बागमती प्रदेशको खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त बजेट विनियोजन गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले जिल्लामा यातायात, खानेपानी र शिक्षा क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
‘लिग कम नक आउट’ विधिमा भएको आइतबारको खेलमा नुवाकोटले जितेको छ । नुवाकोटले ललितपुरलाई २–० को सोझो सेटमा हराएको हो । त्यसपछि दोलखा र काभ्रे, चितवन र धादिङबीच भएको खेलमा दोलखाले काभ्रेलाई २–० ले र धादिङले चितवनलाई पनि २–० ले पराजित गरेको हो ।
दश जिल्लाका खेलाडी सहभागी भएको उक्त प्रतियोगिताको उद्घाटन समारोहमा जिल्लास्थित विभिन्न विद्यालयका स्काउटको टोलीले ‘मार्च पास’ गरेको थियो । मार्च पासमा मन्थली मावि प्रथम, कर्कलादेवी इङ्गलिस बोर्डिङ स्कुल द्वितीय, जेएन बोर्डिङ स्कुल र नागकन्या मावि गडवारीले तृतीय स्थान हासिल गरेका थिए । विजयी विद्यालयलाई क्रमशः रु दश हजार, सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।