तुलसीपुर, १८ असोज : लुम्बिनी प्रदेश सरकारले दुई लाखलाई गाउँमै स्वरोजगार बनाउन मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सुरु गरेको छ । स्वरोजगार बनाउन प्रत्येक जिल्लामा स्थानीय तहसँग स्वरोजगार तुल्याउनका लागि समावेश गर्ने कार्यक्रमका विषयमा परामर्श सुरु गरिएको छ ।
लुम्बिनी प्रदेश मुख्यमन्त्रीका अर्थविज्ञ सुशान्त वैदिकले युवा जनशक्ति विदेश पलायनलाई रोक्न मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम सुरु गरिएको बताउनुभयो । उहाँले प्रत्येक पालिकामा पुगेर त्यहाँ सञ्चालन गर्न सकिने नयाँ उद्यमका सम्भावना र सञ्चालन गर्दैआएका उद्यमबाट थप उत्पादनका कार्यक्रम अघि बढाइने बताउनुभयो ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा दुई लाखलाई प्रत्यक्ष स्वरोजगार तुल्याउनका लागि एक अर्ब बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । २०५६ सालदेखि मनकामना माहुरी फर्ममार्फत माहुरी पालन व्यवसाय गर्दैआएका तुलसीपुर –१ का दामोदर बस्यालले उत्पादन गरेको मह प्रशोधन, बजारीकरणमा सहयोग पुग्ने कार्यक्रम समावेश गर्न पनि आग्रह गरिएको छ ।
तुलसीपुर–८ मा बिरुवा नर्सरी र तुलसीपुर–१७ मा ३५ बिघा जग्गा भाडामा लिएर फूलखेती गरिरहनुभएका बुद्धिराज पौडेलले पुष्प व्यवसायको लुम्बिनी प्रदेशमा राम्रो सम्भावना देखिएकाले त्यसका लागि राज्यले लगानीको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
तुलसीपुर–१८ मा अर्ग्यानिक तिल्की धान र लोकल आलु उत्पादन थालेको गन्यारी कृषि सहकारीका अध्यक्ष लक्ष्मी चौधरीले उत्पादनसँगै उत्पादित वस्तुको ब्रान्डिङका लागि आग्रह गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले किसानले उत्पादन गरेको वस्तु ब्राण्डिङ गर्ने र गुणस्तर कायम गराउन कानुन नभएकाले किसान समस्यामा रहेको भन्दै नीति ल्याउनका लागि प्रदेश सरकारसँग आग्रह गर्नुभयो । नगरप्रमुख खड्काले पालिकाभित्र तिल्की, अनदी, बदिया भाले, टिमुरखेती र पुष्प व्यवसायको राम्रो सम्भावना रहेको बताउनुभयो ।
बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले पालिकामा मासु, दूध र कागज उत्पादनका लागि प्रशस्त सम्भावना भएकाले त्यसको अध्ययन गर्दै लगानी गर्न आग्रह गर्नुभयो । उहाँले बबईका जङ्गलमा थाकल र बाबियो प्रशस्तै पाइने भएकाले कागज उद्योगको राम्रो सम्भावना रहेको बताउनुभयो ।
समन्वयकर्ता सन्तोषकुमार सुवेदीले आयआर्जन बृद्धिगरी गरिबी न्यूनीकरणमा अर्थात् पछाडि परेको वर्गलाई अगाडि ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन हुने नीति ल्याएको बताउनुभएको गोरखापत्र अनलाइनमा समाचार छ ।