काठमाडौं, १० असोज : युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा आज (बुधबार) ५०४ कन्या श्रीकुमारी पूजा सम्पन्न भएको छ । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा)को अवसर पारेर यो पूजा गरेको हो ।
ससाना बालिकाहरुलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरु सो पूजामा सहभागी भएका थिए । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ ।
इन्द्रजात्राको अवसरमा ५०४ कुमारीको पूजा गरिएको छ। नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ । (गोरखापत्र)