कर्णाली, ८ असोज : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले ‘प्रदेश समृद्धिको आधार सहकारी अभियान’ भएको बताउनुभएको छ । आज वीरेन्द्रनगर–३ सुर्खेत उत्तरगङ्गास्थित साना किसान सहकारी संस्था लिमिटेडको २७औँ वार्षिकोत्सव समारोहमा उहाँले सहकारी अभियान आर्थिक समृद्धिको एक प्रमुख आधार भएको बताउनुभयो ।
सहकारी अभियानमार्फत सामाजिक न्याय र आर्थिक समृद्धि गर्न प्रदेश सरकार लागिपरेको जानकारी दिँदै उहाँले सहकारीमा किसान, मजदुर, गरिब, महिला, अल्पसङ्ख्यको पहुँच बढेको र प्रदेश सरकारले आर्थिक समृद्धिको अभियानलाई अगाडि बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कृषि कर्म गर्ने सहकारी र किसान जोड्न प्रदेश सरकारमार्फत सहकारी अभियान सञ्चालन गरी उत्पादनमा वृद्धि र रोजगार सृजना गर्न सकिन्छ ।” सहकारीले ऋण दिने विषयलाई मात्रै प्रथामिकता दिँदा किसानको व्यवसायमा हुने प्रगति मापन गर्न नसकिएको उल्लेख गर्दै मन्त्री शर्माले किसानलाई ऋण दिँदाको अवस्था र ऋण लिएपश्चात् भएको प्रगतिबारे ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
सहकारीमा शेयर सदस्यले बचत गरेको शेयर पूँजीको ठूलो हिनामिना भएको तथा सञ्चालक समितिमा मात्रै ऋण परिचालन गरेको गुनासो किसानबाट आएकाले यसबाट शेयर सदस्यको बचत तथा पूँजीको सुरक्षामा ध्यान दिन मन्त्री शर्माले निर्देशन दिनुभयो । साना किसानको अनुगमन तथा नियमन गर्ने प्रदेश सरकारले तत्काल ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउने उहाँको भनाइ थियो ।
उत्पादन र बजारीकरणको समस्या सामाधान गर्न प्रदेश सरकारले हाटबजार व्यवस्थापनका लागि रु ५० लाख रकम विनियोजित गरेकाले सबै किसानलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
वार्षिकोत्सवमा मन्त्री शर्माले दश विधाका दश उत्कृष्ट हुनेहरुमा सहकारीको ज्येष्ठ सदस्य गोमा उपाध्याय, शेयर खरिदकर्ता दामुदरा क्षेत्री र मीना भट्टराई, कर्जा सुरक्षण बचतमा पदमाकुमारी उपाध्याय, व्यक्तिगत बचतमा बेला बोगटी, ऋणमा कल्पनाकुमारी भण्डारी, असल सासूमा गम्बिरा थापा र बुहारीमा गौरी पोखरेल सम्मान गर्नुभयो ।
उत्कृष्ट कृषक व्यवसायी मानकुमारी चौधरीलाई रु दश हजार र पशु योजनाअन्तर्गत अन्जना थापालाई बीमाबापत रु ५७ हजारको चेकसहित सम्मान गरिएको थियो ।