फिदिम खेल मैदानको निर्माण सकियो

  असोज ०४, २०८०

राधा लुइटेल 

फिदिम, ४ असोज : पाँचथर सदरमुकाम फिदिमको खेल मैदान निर्माणको काम सकिएको छ । ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि अलपत्र परेको खेल मैदान स्तरोन्नतिको काम अगाडी बढाउन फिदिम नगरपालिकाले दबाब दिएसँगै फुटबल खेल्न सक्ने अवस्थामा पुगेको हो ।

खेल मैदानको स्तरवृत्ति गर्न सम्झौता गरेको पिएस.किरातेश्वर मैनाचुली जे.भि.का सञ्चालक सम्पर्कमा नआउँदा मैदान अलपत्र परेको थियो । जेभिले १० करोड ७९ लाख ८७ हजार ७ सय ८१ रुपियाँ लागतमा फिदिम मावि.खेल मैदान निर्माण गर्न २०७७ साल माघ १२ गते सम्झौता गरेपनि काम नगर्दा चार वर्षदेखि यहाँ खेलकुद गतिविधि ठप्प भएका थिए । मैदान सम्म्याएर खेल्न सक्ने अवस्थामा पु-याइएपनि रिटेनिङ वाल, सर्टर, प्यारिफिट, कार्यालय भवन, चेन्जिङ रुम र गेट निर्माणका काम भने अधुरै छन् ।

यसैबिच फिदिम नगरपालिकाले निर्माण व्यवसायीलाई पत्र लेख्दै काम अगाडी नबढाए हस्तक्षेप गर्ने दबाब दिएको थियो । मैदानको स्तरोन्नतिसँगै अब चार वर्षदेखि रोकिएका फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप र पाँचथर महोत्सव जस्ता गतिविधि अगाडी बढ्ने नगर प्रमुख मित्रप्रसाद काफ्ले बताउनुहुन्छ ।

एक महिना अगाडी सम्पर्कमा आएको निर्माण कम्पनीका प्रतिनिधिले खेल मैदान सम्म्याएर बुधबार फुटबल खेल्नसक्ने अवस्थामा पु-याएका हुन् । यद्धपी निर्माण कम्पनीलाई उपकरण जुटाउन नगरपालिकाले नै सहयोग गरेको छ । स्तरोन्नति गरेर तयार पारिएको खेल मैदानमा बुधबार साँझ कर्मचारी र नागरिक समाजबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेर उद्घाटन गरियो । प्रतियोगितामा कर्मचारीलाई २ का विरुद्ध ३ गोल लगाएर नागरिक समाजको टिम विजयी भएको छ ।(गोरखापत्र)

तपाईको प्रतिक्रिया