काठमाडौं, २ असोज : अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको आर्थिक रूपान्तरणका लागि देशभित्र र बाहिर हुने नेपालीहरूको सहभागिता आवश्यक रहेको बताउनुभएको छ । मङ्गलबार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो ।
उहाँले मुलुकको अर्थतन्त्र सुधार आएको भन्दै आर्थिक उन्नति हुने सकारात्मक माहौल बनाउन आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले आर्थिक विकासको सकारात्मक माहौल बनाउनका लागि आर्थिक गतिविधिमा सबै समेलन हुनुपर्ने उल्लेख गर्नुभयो ।
अर्थमन्त्री डा.महतले मुलुकको आर्थिक रूपान्तरणमा सहभागी हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ सबै पक्ष लाग्नुको विकल्प नभएको बताउनुभयो । उहाँले सरकार मुलुकमा सुशासन र लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापना गर्न प्रतिबद्ध रहेको जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मुलुकमा समृद्धि ल्याउने कुरामा सबै मिलेर लाग्नुपर्ने छ । देशमा अब आर्थिक उन्नति हुन्छ भन्ने सकारात्मक माहौल बनाएर लगानी बढाउँदै आर्थिक गतिविधिमा संलग्न हुनु आवश्यक छ । देश र विदेशमा भएका नेपालीहरू मुलुकको आर्थिक रूपान्तरणमा सहभागी हुने अभियानलाई पूर्ण आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । सरकार सुशासन र लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न सरकार प्रतिबद्ध छ ।’’
अर्थमन्त्री डा.महतले गणेशमान सिंह पार्कको स्थानीय, प्रदेश र सङ्घ सरकारको सहकार्यमा पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पार्क निर्माणको बाँकी काममा सरकारको सहयोग रहने बताउनुभयो ।