धुलिखेल–सिन्धुली–बर्दीबास सडकको बजेट घट्यो

  असोज ०२, २०८०

काभ्रेपलाञ्चोक, २ असोज : चालु आर्थिक वर्ष धुलिखेल–सिन्धुली बर्दीबास सडक (बिपी लोकमार्ग) आयोजनाको बजेट घटेको छ। अघिल्ला आर्थिक वर्षमा दिइरहेको बजेटमा कटौती गरी सङ्घीय सरकारले कम बजेट दिएको हो।

बिपी लोकमार्गको रेखदेख तथा मर्मत सम्भार गर्दै आएको धुलिखेल–सिन्धुली बर्दीबास सडक आयोजनाको बजेट गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष ९६ प्रतिशत कटौती भएको छ। आव २०७९/८० मा पुँजीगततर्फ ५८ करोड नौ लाख र चालुतर्फ एक करोड ८१ लाख गरी ५९ करोड ९० लाख रुपियाँ बजेट रहेको उक्त आयोजनामा चालु आवमा चालु र पुँजीगततर्फ गरी दुई करोड ५६ लाख रुपियाँ मात्रै विनियोजन भएको छ।

सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन एकाइ महाशाखा प्रमुख डा. विजय जैसीले बिपी लोकमार्गमा सडक निर्माणको काम खासै नभएको र मर्मतको मात्रै काम हुने भएकाले कम बजेट विनियोजन भएको बताउनुभयो। “बिपी राजमार्गको सडक राम्रै छ, यस वर्ष ठुलो काम छैन, सामान्य मर्मतको काम मात्रै गर्नुपर्ने छ, सडक बोर्डको रकम आउन बाँकी रहेकाले त्यसबाट पनि केही बजेट व्यवस्था हुन्छ,” उहाँले थप्नुभयो।

सरकारले चालु आवका लागि चालुतर्फ दुई करोड र पुँजीगततर्फ ५६ लाख रुपियाँ विनियोजन भएको आयोजनाका लेखा अधिकृत खड्गबहादुर थापाले जानकारी दिनुभयो। चालु आवमा ५७ करोड ५३ लाख रुपियाँ कम पुँजीगत खर्च विनियोजन गरेको लेखा अधिकृत थापाले बताउनुभयो।

“गत आवको तुलनामा चालु आर्थिक वर्षका लागि धुलिखेल–सिन्धुली–बर्दीबास सडकखण्डका लागि पुँजीगततर्फ अत्यन्तै न्यून बजेट विनियोजन भएको छ। यति थोरै रकमले कसरी काम गर्ने भन्ने अन्योल रहेको छ,” उहाँले भन्नुभयो।

बिपी राजमार्गको धुलिखेलदेखि बर्दीबाससम्मको १७० किलोमिटर सडकमा आउने पहिरो सफा गरी यातायात सञ्चालन गर्नका लागि २६ लाख, सडक सुरक्षाका लागि २० लाख र विविध शीर्षकमा १० लाख रुपियाँ बजेट विनियोजन भएको लेखा अधिकृत थापाले बताउनुभयो। आयोजनाले चालु आवका लागि करिब २० करोड रुपियाँ बजेटको माग गरेको थियो।

वर्षायाममा काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिकाका विभिन्न स्थानमा बाढीपहिरो आई सडक अवरुद्ध हुने, काम बढी हुने तथा सिन्धुली क्षेत्रमा समेत पहिरोलगायतको जोखिम रहेकाले यस वर्षका लागि छुट्याइएको रकमबाट काम गर्न समस्या हुने देखिएको गोरखापत्र अनलाइनमा उललेख छ ।

तपाईको प्रतिक्रिया