उपन्यास ‘अन्तर’को पोखरामा परिचर्चा

  भदौ ३०, २०८०

गण्डकी, ३० भदौ : र्‍यान्डम रिडर्स सोसाइटीको शतक शृङ्खलामा रमेश सायनको उपन्यास ‘अन्तर’को पोखरामा आज परिचर्चा गरिएको छ । उपन्यासको परिचर्चा गर्दै गणेश कार्कीले सामाजिक विभेद तथा यौनिक अल्पसङ्ख्यकका बारेमा जान्न चाहनेका लागि ‘अन्तर’ पढ्नैपर्ने कृति भएको बताउनुुभयो ।

यौनिक अल्पसङ्ख्यकको विषयमा लेखिएको उपन्यास अन्तरको मूलकथासँगै समाजको भोगाइ, सोचाइ पनि समेटिएको उहाँको भनाय छ । उपन्यासले समलिङ्गीले भोग्नुपर्ने अप्ठ्यारा र गर्नुपर्ने सङ्घर्षको कथा उल्लेख गरेको बताउँदै उहाँले उपन्यास सकेपछि समलैङ्गिकतालाई समस्या ठान्ने समाजको मनस्थिति नै समस्या हो भन्ने निष्कर्षमा आफू पुगेको बताउनुुभयो । “नेपाली साहित्यमा राम्रो उपन्यास पढ्न चाहने, सामाजिक विभेद बारे जान्न चाहने, अप्लसङ्ख्यक त्यसमा पनि यौनिक अल्पसङ्ख्यकका बारेमा जान्न चाहनेले पढ्नपर्ने उपन्यासको सूचीमा राख्छु म”, उहाँले भन्नुुभयो ।

उपन्यासकार सायनले आफ्नै घरमा छोराछोरीका बीचमा देखेको विभेद्बाट प्रभावित भएर फरक विषयमा कृति लेख्ने प्रेरणा पाएको सुनाउनुुभयो । कतिपय बौद्धिक वर्गका मानिसले नै समङ्गिी हुनुलाई प्राकृतिक कुरा नभइ मानसिक समस्याका रूपमा लिने गरेको अनुभव सुनाउँदै उहाँले यस्तो सोच जटिल समस्या भएको बताउनुभयो ।

सरल शैलीमा फरक लैङ्गिक विशेषता भएको वर्गको कथा लेखेको बताउँदै उहाँले यौनिकताका सम्बन्धमा सामाजिक मनोविज्ञान परिवर्तन हुनुपर्नेमा जोड दिनुुभयो । उहाँले यसअघि भागेर भूगोलभरि (कविता सङ्ग्रह) र छुटेका अनुहार (निबन्ध सङ्ग्रह) प्रकाशन गरिसक्नुुभएको छ । -यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले सोसाइटीले परिचर्चाको शतक शृङ्खलामा सायनको उपान्यास ‘अन्तर’ को परिचर्चा गर्न पाएको उल्लेख गर्नुभयो ।

सोसाइटीका संस्थापक गनेस पौडेलले यौनिक अल्पसङ्ख्यकका विषयमा लेखिएको भए पनि सबैलाई छुने सामथ्र्य ‘अन्तर’मा पाएको धारणा राख्नुुभयो । लैङ्गिक अल्पसङ्ख्यक अगुवा रजनी थकालीले तेस्रो लिङ्गीको अवस्थामा क्रमशः परिवर्तन भएको अवस्था ‘अन्तर’मा प्रस्तुत गरिएकोमा धन्यवाद व्यक्त गर्दै यस्ता विषयमा कृति तयार पार्दा सम्बन्धित पक्षसँग समन्वय गर्दा त्यहाँभित्रका वास्तविक कुरा आउने उल्लेख गर्नुुभयो ।

परिचर्चामा सोसाइटीका सचिव नेपाल प्रकाश अधिकारी, रीना थापा(तानी), गीता लामिछाने, रीता अधिकारी ‘ऋतु’, डा भूमिराज बस्ताकोटी, प्रेम बाबालगायतले भनाइ राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया