काठमाडौं, २७ भदौ : नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय च्यासलबाट निजी निवास बालुवाटार लगिएको छ । बुधबार उहाँका छोराहरू विदेशबाट नेपाल आइपुगेपछि कार्यालयमा राखिएको नेम्वाङको पार्थिव शरीरलाई निजी निवास बालुवाटारमा लगिएको हो ।
निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उहाँका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । बिहीबार सरकारले सार्वजनिक बिदा पनि दिने निर्णय गरेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।