काठमाडौँ, २४ भदौ : जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग सङ्घर्ष समितिमा आबद्ध पीडितले घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । यहाँ आज पत्रकार सम्मेलन गरी उनीहरुले जनयुद्धका घाइते, अपाङ्ग तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारसँग अपिल गरेका हुन् ।
नेतालाई जङ्गलदेखि महलसम्म पुर्याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाइते, अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरुले बताएका छन् । राज्यले काम गरिखान नसक्ने अवस्थामा रहेका जनयुद्धका अपाङ्ग र घाइतेलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।
जनयुद्धको घाइते चेतन सिग्देलले सरकारले आफूहरुलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने माग गर्दै आफूहरुको व्यवस्थापनमा राज्यले नजर अन्दाज गरेको खण्डमा सङ्घर्षमा उत्रिने बताउनुभयो । “हामी काम गरिखान नसक्ने घाईते कयौँ साथीका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस्, यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामी सङ्घर्षमा जानेछौँ”, उहाँले भन्नुभयो ।