ताप्लेजुङ, १९ भदौ : इलामको रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलअन्तर्गत आज भएको खेलमा रेड स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १‐१ को बराबरी गोल गरेका थिए । खेलको १५औँ मिनेटमा इलामका आशिष राईले एक गोल गर्दै सुरुआती अग्रता लिए पनि ७५औँ मिनेटमा झापाका ग्लोरीले गोल गर्दै बराबरी गर्नुभएको थियो । प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै टिमले निर्धारित समयमै जीतको नतिजा निकाल्न प्रयासरत रहे पनि निर्धारित समय बराबरीमै सकियो ।
टाइब्रेकरमा झापाका मिलन राईको गोल रेडहर्षका गोल किपर विवेक मगरले छेकेपछि इलामलाई सफलता मिलेको हो । झापाका निसान लिम्बू, जीवन गुरुङ, मीलन राई र मनोज राईले गोल गरे भने इलामका विशाल लामा, आसिस लावती, पिकेस लोक्ताम र विवेक मगरले गोल गर्नुभयो ।
जीतसँगै इलामले बुधबार हुने फाइनल खेलमा इटहरीको जुट विकास फुटबल एकेडेमीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सोमबार भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी उपाधीको दाबेदार बनेको छ ।
दार्जिलङका सहित यो पटक आठ टिम सहभागी प्रतियोगिता बुधबार सकिँदै छ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।
लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमक विद्यालयको खेल मैदानमा भइरहेको छ । विसं २०२९ देखि हरेक वर्ष लाखेजात्रामा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । कोभिडलगायतका कारण पछिल्लो तीन वर्षयता प्रतियोगिता हुन सकेको थिएन । तर यो वर्ष भने प्रतियोगिताले निरन्तरता पाएको छ ।