विशेषज्ञ सेवा दिँदै आँखा अस्पताल, तर स्थानीयलाई थाहा छैन

  भदौ १३, २०८०

डडेल्धुरा, १३ भदौ : यहाँ रहेको आँखा अस्पतालले विगत लामो समयदेखि विशेषज्ञ चिकित्सकमार्फत सेवा प्र्रदान गरिरहेको छ । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत गेटा आँखा अस्पतालले सञ्चालन गर्दै आएको डडेल्धुरा आँखा अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको हो ।

अस्पतालको सेवाबारे धेरै सेवाग्राहीलाई जानकारी नै छैन । विगत एक वर्षदेखि आँखा रोग विशेषज्ञ डा मुकेश पाण्डेयले सो आँखा अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्दै आएका आँखा अस्पतालले जनाएको छ । सामान्य उपचारदेखि मोतिया विन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको, गाँठागुँठी भएको लगायतका आँखासम्बन्धी जटिल रोगको उपचार डडेल्धुरा आँखा अस्पतालमै भइरहेको अस्पतालका इन्चार्ज बेञ्जना बेल्बासेले जानकारी दिनुभयोे । विशेषज्ञ उपचारका बारेमा स्थानिय तथा आँखा सम्बन्धीका बिरामीहरुले थाहा नपाउँदा उनीहरु उपचारका लागि गेटा आँखा अस्पतालसमेत धाउने गरेका छन् ।

यसका बारेमा जानकारी भए सजिलो र कम खर्चमा जिल्लामा नै जटिल समस्याको पनि समाधान भइरहेको इन्चार्ज बेल्बासेले वताउनुभयो । उहाँका अनुसार दैनिक अहिले एक सय बिरामी अस्पताल पुग्न थालेका छन् । सयमध्ये ६० जना आँखा पाक्ने रोगबाट ग्रसित भएका बिरामी आउने गरेका छन् । “आँखाका विभिन्न समस्याबाट पीडित भएका एक सय जनाको मासिक शल्यक्रिया पनि भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रदेशका सातवटै पहाडी जिल्लाबाट बिरामी आउने गरेको भए पनि उपलब्ध सेवाअनुसार बिरामीको चाप बढ्न नसकेको अस्पतालले जनाएको छ । अस्पतालमा पुग्ने बिरामीमध्ये एक प्रतिशतलाई मात्रै अन्यत्र पठाउने गरिएको बेल्बासेले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति सङ्घका जिल्ला अध्यक्ष शिवराज पन्तले अस्पतालसँगै विभिन्न समयमा शिविरमार्फत पनि सेवा दिइरहेको बताउनुभयो । उक्त आँखा अस्पताल जिल्ला सदरमुकाम सँगै जोडिएको घटालथान जाने बाटोेमा रहेको छ

तपाईको प्रतिक्रिया