एसिया कप क्रिकेट : कराँचीमा क्रिकेट टोलीको अभ्यास सुरु

  भदौ ०८, २०८०

काठमाडौं, ७ भदौ : एसिया कप क्रिकेट खेल्न बुधबार पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबारदेखि अभ्यास सुरु गरेको छ ।

नेपाली टोलीले कराँचीस्थित हनिफ मोहमद हाईप्रफमेन्स सेन्टरमा अभ्यास सुरु गरेको हो । नेपाली टोलीलाई पाकिस्तान अवतरण गरेसँगै त्यहाँको सुरक्षा दस्ताले कडा सुरक्षा दिएको छ । 

बुधबार नेपाली टोलीलाई भिभिआईपी सुरक्षा प्रदान गरी होटल लगिएको थियो । नेपाली टोलीले कराँचीमा कडा सुरक्षा घेरामै रहेर एक साता अभ्यास गर्नेछ । अभ्याससँगै नेपालले त्यहाँको स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ ।

नेपाली टोलीमा राखिए पनि चर्चित खेलाडी सन्दीप लामिछाने अहिले पाकिस्तान जानुभएको छैन । काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेको अदालतमा यही बिचमा पेसी रहेकोले पेसी सकेर पाकिस्तान जाने बताइएको छ । 

नेपाली टोली कराँचीमा अभ्यास सकेर अगस्ट २७ तारिख एसिया कपको उद्घाटन खेल खेल्न मुल्तान प्रस्थान गर्नेछ । एसिया कपमा नेपालले समूहको पहिलो खेल अगस्ट ३० तारिख आयोजक पाकिस्तानसँग मुल्तान क्रिकेट रङ्गशालामा खेल्नेछ । 

पाकिस्तानसँग खेले पनि नेपालले सेप्टेम्बर ४ मा भारतसँग अर्को खेल श्रीलङ्कामा खेल्नेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । 

समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरु श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा हुन लागेको हो ।

तपाईको प्रतिक्रिया