काठमाडौँ, ६ भदौ : सङ्घीय संसद् प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । आज दलहरूबीच भएको सहमतिबारे उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने र विशेष समयमा दलीय आधारमा प्रतिनिधिसभा सदस्यहरूले बोल्ने सहमति आजको बैठकले गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले करिब एक महिनादेखि अवरुद्ध संसद् खुलाउन दलहरूबीच भएको सहमतिप्रति खुसी व्यक्त गर्नुभयो ।
सदन खोल्न आफूले पटक–पटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग छलफल गरेको र प्रमुख सचेतकहरू तथा कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल भएको उहाँले बताउनुभयो ।
संसदीय व्यवस्थामा दलहरूको भूमिका नै प्रमुख हुने र दलहरूले नै संसद्को गरिमा बढाउने गरी काम गर्नुपर्ने सभामुख घिमिरेको भनाइ छ ।