गण्डकी, ६ भदौ : कृषिकर्मबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण किसान टुकाराम लामिछाने बन्नुभएको छ । पोखरा महानगरपालिका–३१ स्याङखुदीस्थित खनास्वारामा झाडी फाँडेर उहाँले व्यवसायीक कागती खेती सुरुआत गर्नुभएको थियो ।
उहाँले सरकारको जागिर र व्यापार व्यवसायसमेत छोडेर पाँच वर्षअघि गाउँको बाँझिएको जग्गामा कागती खेती थाल्नुभएको थियो । “बेगनास तालको जलाधार क्षेत्र अन्तर्गतपर्ने भिरोलो पाखोमा लगाएका सात सय कागतीका बिरुवाले फल दिन थालेका छन्” उहाँले भन्नुभयो, “दिनमा ५० केजी उत्पादन हुने गरेको छ प्रति केजी एक ५० रुपैयामा बिक्री गर्दा दैनिक सात हजार पाँच सय रुपैया आम्दानी हुने गरेको छ ।”बाँदरलगायत वन्यजन्तुले नोक्सान नगर्ने, रोग कम लाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नुनपर्ने र बजार पनि राम्रो भएको कारण कागती खेतीमा भविष्य देखेको उहाँको भनाइ छ ।
धरानको पाख्रीवासबाटप्रति गोटा दुई सयका दरले खरिद गरेर २०७५ साल साउनमा रोपेका सोना जातका सबै कागतीका बिरुवाले फल दिन थालेका छन् । रसिलो भएको कारण बजारको माग पनि राम्रो छ । कृषि ज्ञान केन्द्र स्याङ्जाको सिफारिसमा लगाएका उन्नत जातको कागतीका दुई सय बिरुवा लटरम्म फलेका छन् । लगभग १० क्विन्टल फल उत्पादन भएको छ ठूलो आकारको कागतीले बजार भने नपाएको उहाँले गुनासो गर्नुभयो । कागतीको बोटले फल धान्न नसकेर हाँगा भाँचिन थालेका छन् ।
“रोपेको चार वर्षमा फल दिन सुरु गरेको कागतीको एउटै बोटले १२ हजार मूल्य बराबरको ८० किलो फल दिएको थियो ” उहाँले भन्नुभयो, “कागतीको फल बिक्रीबाट अघिल्लो वर्ष आठ लाख परेको थियो, यसवर्ष २० लाख भन्दा बढी आम्दानी हुने विश्वास छ ।” पछिल्लो समय चिया र खानामा कागतीको अत्याधिक प्रयोग हुने हुँदा बजारमा माग अत्याधिक रहेको छ सम्भवत कास्कीमै पहिलो व्यावसायिक कागती खेती सुरु गर्नुभएको उहाँले भन्नुभयो,“राज्यकोतर्पmबाट किसानलाई आवश्यक सहयोग गर्ने हो भने कागतीलगायत तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।”
कागती खेतीभित्र अन्तरबालिका रुपमा तरुल र अकबरे खुर्सानी रोपेको बताउँदै उहाँले थप्नुभयो, “पहिलो वर्ष तरुलबाट सात लाख र दोस्रो वर्ष अकबरे खुर्सानीबाट ६ लाख आम्दानी भएको थियो ।” किसान लामिछाने भन्नुभयो, “माघे सङ्क्रान्तिका अवसरमा प्रदेश सरकारद्वारा आयोजित ढङ्गेसाँघुमा भएको कन्दमूल मेलामा तरुल प्रथम भएर १० हजार पुरस्कार प्राप्त गर्न सफल भएको बाहेक सरकारीस्तरबाट आजसम्म कुनै पनि सहयोग प्राप्त भएको छैन ।”
समुद्री सतहबाट लगभग नौ सय मिटरको उचाइमा बेगनासतालसँगै रहेको उहाँको बगैँचामा स्याउसमेत फलेको छ । परीक्षणका लागि लगाएको एउटा स्याउको बोटमा आठदेखि १० फल फलेको उहाँले जानकारी दिनुभयो । उहाँले व्यावसायिकरुपमा कागती खेतीसहित, टिमुर, एभोकाडो, अमला, ओल, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, स्याउ, ठूलो बयर, रातो केरा लगायतका विभिन्न जातका फलफूलका बोटबिरुवा लगाउनुभएको छ ।
उत्पादित फल बिक्री वितरणका लागि बजार जानुपर्ने, व्यापारीले समयमा पैसा नदिने हुँदा बगैँचामा दिने समय बाहिर खर्च हुँदा अप्ठेरो परेको बताउँदै उहाँले भन्नुभयो, कृषि उत्पादन वारीबाटै उठाइदिने व्यवस्था गर्ने हो भने व्यवसायमा किसानको आकर्षण बढ्नुको साथै आयातित वस्तुलाई विस्थापित गर्दै आत्मनिर्भतातर्पm उन्मुख हुँदै स्वरोजगार सिर्जनामासमेत योगदान पुग्ने छ । लिप्टिङ प्रविधिबाट बेगनासतालको पानी तानेर बगैँचामा सिँचाइको व्यवस्था गरिएको जनाउँदै उहाँले दुईसय मिटर पाइप विस्तारसहित रु तीन लाख खर्च भएको बताउनुभयो ।
प्रत्येक चार–चार मिटरको फरक एवम् एक–एक मिटर गहिराई र चौडाइका खाल्टामा विरुवा रोपेर शुरु गरेको कागती खेतीमा ७० लाख भन्दा बढी खर्च भएको उहाँको भनाइ छ । स्याङखुदीमा सुरु भएको व्यावसायिक कागती खेतीले कास्कीमा सुन्तलाजात हराएको छैन भन्ने प्रमाणीत गरेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।
टिपेको दुई हप्तासम्म पनि नबिग्रने, बाँदरले नखाने बढी भएमा अमिलो बनाउन सकिने कागतीखेतीको विस्तारका लागि महानगरले वार्षिक आठदेखि १० हजार बिरुवा किसानलाई वितरण गर्दै आउनुभएको छ । उहाँले बाँझिएको भिरालो पाखोमा व्यावसायिक कागती खेतीले पोखरालाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।