महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै इङ्गल्यान्ड फाइनलमा

  साउन ३१, २०८०

काठमाडौं, ३१ साउन : आयोजक अष्ट्रेलियालाई हराउँदै इङ्गल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिड्नीस्थित अस्ट्रेलिया रङ्गशालामा बुधबार भएको खेलमा इङ्गल्यान्डले अष्ट्रेलियालाई ३–१ गोलले हरायो ।

इङ्गल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो । फाइनलमा इङ्गल्यान्डले स्पेनको सामना गर्नेछ । स्पेनले स्विडेनलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । 

इङ्गल्यान्डको जितमा इला टुन, लोरेन हेम्प र एलिसा रुसोले गोल गर्नुभयो । अस्ट्रेलियाका लागि साम केरले सान्त्वना गोल फर्काउनुभयो । अस्ट्रेलियाविरुद्ध आक्रामक खेल प्रदर्शन गरेको इङ्गल्यान्डले ३६औँ मिनेटमा टुनको गोलमार्फत अग्रता लिएको थियो ।

त्यसपछि ६३औँ मिनेटमा अस्ट्रेलियाकी केरले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ७१औँ मिनेटमा हेम्पले गोल गर्दै इङ्गल्यान्डलाई पुनः अगाडि बढाउनुभयो । ८६औँ मिनेटमा रुसोले गोल गर्दै इङ्गल्यान्डलाई सजिलै फाइनलमा प्रवेश गराउनुभयो ।

स्पेन र इङ्गल्यान्डबीचको फाइनल खेल आइतबार हुनेछ । सेमिफाइनलमा पराजित अष्ट्रेलिया र स्विडेनबीच शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया