हक्की सोलिडारिटी कार्यक्रम सञ्चालन

  साउन ३०, २०८०

काठमाडौँ, ३० साउन : नेपाल हक्की सङ्घको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा आजदेखि राजधानीमा साताव्यापी ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गर्नुभयो । उहाँले यस प्रशिक्षणबाट उत्पादन हुने जनशक्तिले नेपालमा हक्की खेलको पुनःउत्थान हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एसिया हक्कीका इभेन्ट म्यानेजर एवं डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षकका भूमिकामा रहनुभएका अली पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत हुनुहुन्छ ।

सोलिडारिटी कार्यक्रममा प्रशिक्षक, निर्णायक र सङ्घका पदाधिकारी गरी करिब ३० जनाको सहभागिता रहेको छ । कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ । यस्तै इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइनेछ । प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया