काठमाडौँ, २८ साउन : जनकपुरधामको विकासका लागि स्थुल र सुक्ष्म दुई आधार महत्वपूर्ण परिलक्षित हुन्छ । स्थुल आधारअन्तर्गत विद्यमान भौतिक संरचनाको ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व रहिआएको छ । यी स्थलको खोजी, पहिचान र संरक्षणसहित पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न सुन्दर संरचनाका लागि सुन्दर नक्शा नै कोर्नुपर्ने यथार्थतर्फ ध्यानाकर्षण गराइरहेको छ ।
यसका लागि ‘बान्डिङ’का विषयलाई सम्भाव्यका रुपमा लिन सकिन्छ । त्यस्तै सुक्ष्म सम्पदाका रुपमा मैथिली लोककला, संस्कृति र परम्पराप्रतिको आकर्षण विद्यमान छ । मूलतः इतिहास, पुराण प्रसिद्ध जनकपुरधाम विश्वविख्यात वैदिक संस्कृतिको आस्था रहेको हुनाले यसपवित्र भूखण्डको महत्व र मर्यादा सनातन संसारका लागि गौरवको विषय वस्तु बनेको छ ।
जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान रामको ससूराली, वृहदारण्य, विदेहभूमि, नैमिकानन, शाम्भवी, तपोवन, स्वर्णलाङल र जानकी जन्मभूमि, तीरभूक्ति, विश्वभाविनी नामले धार्मिक पर्यटनका क्षेत्रमा विशिष्ट स्थान ओगटेको छ । उच्च सभ्यता, ज्ञानविज्ञान र धनधान्यको केन्द्र, शास्त्र लेखन, कला, यज्ञ, तप, तत्व चिन्तन र दर्शनमाथि कर्मकाण्ड, विद्वान, विदुषिकोसभा, गोष्ठी, शास्त्र चर्चा, प्रश्नोत्तर र शास्त्रार्थको केन्द्रले परिचित छ । मिथिला शब्दमा मैथिलीको वैचारिकस्वरुप निहित छ । मिथको अर्थ प्रशस्ति, गुणगान र इलाको अर्थ वुद्धि र शक्ति हुन्छ । जनकपुरकै पुण्य भूमिको कोखबाट प्रादुर्भूत जानकीको शील, सहिष्णुता, स्वाभिमान र समर्पणले सनातन सभ्यता र संस्कृतिको विकास क्रममा नयाँ मूल्य मान्यताको स्थापना गरेको छ ।
त्रेता युगमा आदर्श नारीको जानकीको विवाह मर्यादापुरुषोत्तम रामसँग हुनुले पनि जनकपुरधामको महिमा मण्डित छ । कल्याणस्वरूप, सत्यस्वरूप भगवानका रूपमा पूजा राम र सत्यस्वरूपा देवीका रूपमा पूजा सीता पुण्यदायक र मोक्षदायक शब्द भएकाले पनि यहाँ आयोजना हुने रामजानकी विवाह महोत्सवमा लाखौंँ श्रद्धालु सहभागी भई वैवाहिक क्षणको अलौकिक दृश्य हेर्दै जयजयकार गर्दछन् । भागवत् पुराणका अनुसार राम परब्रम्हा हुन् भने जानकी लक्ष्मीको अवतार हुन् ।
जानकी मन्दिर परिसरमा हुने गरेको वैवाहिक क्षणअन्तर्गत कन्यादानविधिको कारूणिकताले त्रेतायुगीन विवाहोत्सवको क्षण प्रकट भएको अनुभूति हुन्छ । यी पृष्ठभूमिलाई विवाह भूमि ‘ब्रान्डिङ’का लागि महत्वपूर्ण आधार मान्न सकिन्छ । तुलसीदासद्वारा लिखित रामायणअनुसार त्रेतायुगमा बाह्रविघामा नै धनुष यज्ञ हुँदा भगवान रामले धनुषमा ताँदो चढाउँदा शिव धनुष खण्डित भएको थियो । यसपछि राजा जनकले विवाह मणिमण्डपमा वैवाहिक उत्सवको आयोजना गराएको ग्रन्थमा उल्लेख छ ।
भगवान विश्वकर्माले जानकीको विवाहका लागि मणि जडित मड्वा निर्माण गरेकै कारणले वैवाहिक मड्वाको नाम मणिमण्डप हुन गएको जनश्रुति छ । राजा जनककी पत्नी सुनयनाले मणिमण्डप भएकै स्थानमा बजार लगाएकी थिइन्, जसलाई सर्वसाधारणले रानी बजारको रुपमा पहिचान गरेका छन् । राजा जनकको दरबारको क्षेत्रफल १५ कोश रहेको विश्वास गरिन्छ । पन्ध्रकोशे दरबारमा ५२ वटा गल्ली रहेकोसमेत बताइन्छ ।
विभिन्न शोधले दरबारकोबीच आँगनका रुपमा जनकपुरको पिडारी गाउँलाई आधार बनाउने गरेको छ । सोही बमोजिम राजा जनकले जानकीको विवाह गर्दाबीच आँगनमा मड्वा निर्माण गर्न लगाएका थिए, जसलाई मणिमण्डपको संज्ञा दिइएको छ । मणिमण्डपको छेउमै सीताले वैदिक परम्पराअनुसार विवाहको क्रममा लाबा छरेकोस्थल वेदी रहेको छ । वेदिरहेको स्थानमा अझै दैविक शक्ति विद्यमान रहेको विश्वास छ । त्यस स्थानमा रातो रङ्गको माटो स्वस्फूर्त निस्किने गरेको र त्यो माटोलाई सिन्दूरका रुपमा प्रयोग गर्न घुइँचो लाग्ने गरेकोले पनि यसको पौराणिकतालाई पुष्टि गर्दछ ।
त्यसको उत्तरपट्टितर्फको पोखरीलाई जानकीले विवाहपछि आँखा पखालेकोस्थल रहेको विश्वास गरिन्छ । पोखरीको पानी अझै कालो नै छ । पानी सतहमुनिको माटोसमेत गाजलु देखिने गरेको छ । पर्यटन मानवीय गतिविधि हो । धार्मिक क्षेत्रलाई पर्यटनको अभिन्न अङ्ग मानिन्छ । धार्मिक पर्यटन पर्यटनको पुरानो गतिविधि भए पनि नयाँ आयामका रुपमा स्थापित भएको छ । जानकी र बुद्धको जन्मथलो भएर पनि नेपालमा धार्मिक पर्यटनको प्रतिफल लिन यथेष्ट प्रयास भएको कमै देखिन्छ ।
मानव सभ्यतासँगै धार्मिक क्रियाकलापको विकास भएको देखिन्छ । जनकपुरमा पर्यटनको आरम्भको लिखित कथा पौराणिक कालदेखि नै पाइन्छ । पौराणिकग्रन्थका आधारमा जनकपुर आउने पहिलो पर्यटक विदेह माधव हुन् । शत्पथ ब्राह्मण ग्रन्थमा विदेह माधवले नै आर्यहरुको प्रथम देवता वैश्वानर अग्निलाई आफ्नो मुखबाट प्रकट गरेको उल्लेख छ ।
त्यसपछि वैदिक र औपनिषदिक ऋचाहरुको रचना गर्ने ऋषिहरुको आगमनको प्रसङ्ग पाइन्छ । याज्ञवल्क्य, अष्टावक्र, गार्गी, मैत्रेयी आदि जनक दरबारमा मीमांसाका लागि पर्यटककै रुपमा आएर आश्रमसमेत बनाएको चर्चा छ । भनिन्छ, कृति जनकको राजसभामा कोशल तथा कुरु प्रदेशबाट आएका विद्वानहरु अश्वल, जरत्कारव, याज्ञवल्क्य, भुज्यु, उशस्तु गार्गी, आरुणि आदि विद्वानहरु रत्नबाट अलङ्कृत थिए ।
जैनहरुका २४औँ तीर्थाकरको जन्म जनकपुरमै भएको थियो । अन्तिम तीर्थकर महावीरका एउटा गणधर जनकपुरकै थिए । महावीर स्वयंले जनकपुरमा छ वर्ष बिताएको र बुद्ध पटक–पटक आएको प्रसङ्ग पाइन्छ । बौद्धको १५ जातकमा पनि जनकपुरको वर्णन छ । विभिन्न प्रकरणमा स्वयं भगवान श्रीकृष्ण जनकपुर तीनपटक आएको प्रमाण महाभारतमा उल्लेख छ । सुफी सन्तहरुको कर्म क्षेत्र रहेको आधारमा मुसलमानहरुका लागि पनि यो भूमि परम पावन रहेको छ ।
बज्जिसङ्घको सदस्य भएपछि यहाँ बौद्ध धर्मावलम्बीको ओइरोको उल्लेख छ । सन् ६४३ तिर चिनियाँ यात्री हुएनसाङ जनकपुरतिर पनि आएको कुरा उनले आफ्नो यात्रा बृतान्तमा चर्चा गरेका छन् । पृथ्वीनारायाण शाहको राज्य एकीकरण अभियानअन्तर्गत काठमाडौँ राज्य जयप्रकाश मल्लले बचाउन शाहको विरोधमा अङ्ग्रेजलाई उचाल्दा सन् १७७५ मा किनलकको नेपाल प्रवेश जनकपुर हुँदै भएको कुरा इतिहासबाट प्रमाणित छ ।
पश्चिमेली नागरिकमा जनकपुरमा सन् १९६४ तिर आउने अमेरिकी पिसकोर स्वयंसेवक अर्नोल्ड दम्पत्ति पहिला हुन् । त्यसपछि जनकपुर चुरोट कारखाना भवन निर्माणको क्रममा रुसी नागरिकको आगमन भएको देखिन्छ । यस्तै अमेरिकी महिला क्लेयर बर्कटले कुवामा महिला विकास केन्द्रको स्थापना गरी मिथिला चित्रकलाको अन्तर्राष्ट्रिय बजारमा प्रसिद्धी दिलाएको पाइन्छ ।
योजनाबद्ध रुपमा जनकपुरलाई पर्यटन केन्द्रको रुपमा विकसित गर्ने प्रयास कुनै पनि पक्षबाट भएको देखिदैन । जनकपुरको आत्माको रुपमा रहेको धर्म र संस्कृतिको जादूले मात्र आजसम्म स्वतः तानिएर पर्यटक जनकपुर आउने गरेका छन् । यस भावभूमिमा नीलम संजीवा रेडी, ज्ञानी जेल सिंह, अटलबिहारी बाजपेयी,नरसिंह रावलगायतका भारतीय वरिष्ठ नेता र राजनीतिकर्मीहरुको जनकपुर आगमन भएको थियो । यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जनकपुर र अयोध्याको प्राचीन सम्बन्धलाई दृष्टिगत गरी घोषणा गरिएको रामायण सर्किट परियोजना ‘ब्रान्डिङ’ सन्दर्भलाई टेवा दिन सकिने दिगो आधार हुनसक्छ ।
जनकपुरधामबिना भारतको धाम र भगवान राम पनि अधुरो रहने यथार्थताको पृष्ठभूमिमा समृद्ध सांस्कृतिक विविधताको संरक्षणअन्तर्गत मिथिलाको जनकपुरधाम र भारतको अयोध्याबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार, तीर्थाटनको प्रवद्र्धन गर्ने उद्देश्य राखी रामायण सर्किट परियोजना कार्यान्वयनमा छ । यसलाई जनकपुरधाम र अयोध्याको धार्मिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ र तीर्थयात्रीको ओइरो लाग्ने परियोजना त्रेता युगको विरासत गाथा, राम र जानकीको पाइला स्पर्श गरिएको क्षेत्रसँग जोड्ने भागीरथ प्रयास र पर्यटकीय विकासका फाँटमा आशाको किरण मानिएको छ ।
सन् २०१४ मा भारतीय भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुरको धार्मिक तथा सांस्कृतिक विकासका लागि गरिएको सम्झौताअनुरुप रामायण सर्किट रामको जीवनका तीनवटा अध्याय जन्म, विवाह र रावण वधसँग सम्बन्धित स्थलको तीर्थाटनमा आधारित परियोजना हो । भारतको पर्यटन मन्त्रालयबाट भारतभरि दर्शन योजना अन्तर्गत विकसित १३ विषयगत सर्किटमध्ये रामायण सर्किट पनि एउटा हो ।
यो परियोजनाभित्र अयोध्या, श्रृङ्गपुर, चित्रकुट, सीतामढी, बक्सर, नन्दीग्राम, जगदलपुर, भद्राचलम, रामेश्वरम, हम्पी, नासिक र नागपुर छ भने नेपालतर्फ जनकपुरधाम लगायत राम र जानकीको जीवनगाथासँग जोडिएको धार्मिकस्थलको विकास समावेश छ । परियोजनाभित्र पोखरी, मन्दिर, मिथिलाको विरासत संरक्षण, रामायणकालीन तीर्थस्थललाई पर्यटनसँग आबद्ध गरी जनकपुर र अयोध्यालाई आर्थिक रुपमा सबल बनाउने मार्गचित्र रहेकाले यसलाई सभ्यता र .संस्कृतिलाई जीवन्त तुल्याउने अतुल्य अभियान मान्न सकिन्छ ।
जनकपुरधाम आउने ७० प्रतिशत भारतीय तीर्थयात्री हुने गरेकाले पनि परियोजना महत्वपूर्ण छ । सन् २०१८ मई १ मा भारतीय प्रधानमन्त्री मोदीको जनकपुर आगमनपछि जनकपुरमा भारतीय तीर्थयात्रीको वृद्धिले पनि यसको सार्थकतालाई सिद्ध गरिरहेको छ । रामायण सर्किट परियोजनाअन्तर्गत दुई पटक विशेष रेलद्वारा भारतीय तीर्थयात्रीको जनकपुरधाम आगमन पनि भइसकेको छ । यसलाई स्वदेशी र विदेशी पर्यटकलाई मनोहर र पर्यटन अनुभव आदान प्रदान र पर्यटन परिपथ एकीकृत विकासको नयाँ पाइला पनि मानिएको छ । यसको एउटा पाटोका रुपमा भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा नेपालको देवशिलाको प्रयोग गरी तीर्थाटनको सूत्रलाई विस्तार गरिएको छ ।
यसका अतिरिक्त वर्तमानमा विशिष्ट छविका रुपमा विकसित गर्न स्थललाई ‘ब्रान्डिङ’ गर्नु आवश्यक छ । जनकपुरधामलाई विवाह भूमि ब्रान्डिङ गरी देश र विदेशबाट नवजोडी विवाहका लागि गन्तव्य स्थलका रुपमा विकसित गर्नु पर्दछ । यसका लागि मणिमण्डपमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न विवाह मण्डप निर्माणको अवधारणालाई मूर्त रुप दिनुपर्ने टड्कारो देखिएको छ । मणिमण्डपमा एक पटक सामूहिक विवाहको प्रयास एउटा संस्थाले गरे पनि व्यवस्थापकीय पक्षको कमजोरीका कारण मणिमण्डपमा निरन्तरता पाउन नसकेर सामूहिक विवाहलाई जानकी मन्दिर परिसरमा आयोजना हुने रामजानकी विवाह उत्सवमा सीमित गरिएको छ । विश्वकै महान सम्पदा जनकपुरधामलाई विवाह भूमि ‘ब्रान्डिङ’ गरी धार्मिक पर्यटन क्षेत्रमा एक प्रमुख गन्तव्य स्थलका रुपमा प्रवर्द्धन गर्नु आवश्यक देखिन्छ ।(लेखक पत्रकार एवं मैथिलीभाषा, साहित्यका अध्यता हुनुहुन्छ)