अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन्, डराउनु पर्दैन : अर्थमन्त्री

  साउन २७, २०८०

काठमाडौं, २७ साउन : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री महतले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढिरहेको बताउनुभयो । उहाँले नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठुलो अवसर रहेको भन्दै नेपाल विदेश भन्दा सबै किसिमले व्यापार व्यवसायका लागि राम्रो रहेको बताउनुभयो। उहाँले नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानीकर्ताका लागि राम्रो अवसर दिएको बताउनुभयो । उहाँले आइटी क्षेत्र नेपालमा राम्रो रहेकाले लगानी बढाउन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘अहिले नेपाल पनि बिस्तारै विकासको बाटोमा अघि बढेको छ । अहिले कोरोना भाइरसलगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन् । तर यो अस्थायी हो र नेपाल अब अघि बढ्छ । नेपालमा व्यापार व्यवसाय गर्न ठुलो अवसर छ । विदेश गएकाहरूले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरेर राम्रो गरिरहेका छन् ।”

“आइटी क्षेत्र कोभिडपछि नेपालमा युवाले अरू बाहिर जाने अवस्था नभएकाले उनीहरूको दिमाग कम्प्युटरमा गयो । आइटी क्षेत्र राम्रो बन्दै गइरहेको छ । नेपाली युवा सफ्टवेयर निर्यात गरिरहेका छन् विदेशमा । नेपाललाई पनि फाइदा गरिरहेका छन्, आफ्नो जीवन पनि राम्रो बनाइरहेका छन् । आइटी क्षेत्रका लागि धेरै ठुलो लगानी गर्न पर्दैन । यसको लागि समर्पण र स्किल भए पुग्छ । त्यसमा पनि लाग्न अनुरोध गर्छु । यस पटकको बजेटमा आइटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर कम गर्ने निर्णय गरेको छु,” उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया