काठमाडौँ, २६ साउन : अमेरिकी सहायतामा नेपालमा सञ्चालित आयोजनाको प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । अर्थ मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)बीच सम्झौता भई कार्यान्वयनमा रहेका विकास आयोजनाको प्रगति समीक्षा भएको हो ।
बैठकको उद्घाटन सत्रमा अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकाले दिइरहेको द्विपक्षीय सहयोगको प्रशंसासहित निरन्तरताको अपेक्षा रहेको बताउनुभयो ।
वर्षौंदेखिको नेपाल–अमेरिका साझेदारीको स्मरण गर्नुहुँदै अर्थमन्त्री महतले नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण सडक, खानेपानी र सुधारका लागि प्रत्यक्ष सहयोग गर्ने ग्रामीण पूर्वाधार आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल गर्न अमेरिकी सहयोग परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । अमेरिकी राजदूत डीन थम्पसनले विकासका विभिन्न क्षेत्रमा नेपाल–अमेरिकाबीच लामो समयदेखि साझेदारी रहेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो ।
यूएसएआईडीको सहयोग सम्झौता अन्तर्गत सञ्चालित आयोजनाको आजसम्मका उपलब्धि, कोष प्रवाह, स्थानीय संस्थाको उपयोगमा बजेटमा बढेको जोड साथै यस अवधिमा भूमिका र जिम्मेवारी स्पष्ट गर्दै नेपाल अमेरिकाबीच साझेदारीलाई सुदृढ पार्नु यस समीक्षा बैठकको उद्देश्य थियो ।
बैठकमा अर्थमन्त्री डा महत, अर्थ सचिव अर्जुनप्रसाद पोखरेल, नेपालका लागि अमेरिकी राजदूत थम्पसन, युएसएआईडीका मिसन निर्देशक सेपिदेह किभनशाद, मन्त्रालयका अधिकारी, युएसएआईडीका पदाधिकारीलगायतको उपस्थिति थियो ।
विकास उद्देश्य सम्झौता (डिओएजी)बाट गत वर्ष नेपाल र अमेरिकाबीच भएको द्विपक्षीय छाता सम्झौतामा पाँच वर्षमा ६५ करोड ९० लाख अमेरिकी डलर उपयोग गर्ने उद्देश्यले नेपालको बजेट प्रणालीबाट अमेरिकी सहायता प्रयोग गर्ने जनाइएको छ ।