एनिमेटेड चलचित्र सलीनाको टिजर सार्वजनिक

  साउन १२, २०८०

काठमाडौं, १२ साउन : एनिमेसन प्रविधिबाट तयार पारिएको चलचित्र सलीनाको टिजर शुक्रबार सार्वजनिक भएको छ । चलचित्र सलीनाको सम्पूर्ण एनिमेसन तथा प्राविधिक काम नेपालमै गरिएको र यो चलचित्र नेपालकै पहिलो एनिमेटेड चलचित्र भएको चलचित्रका सम्पादक शिव पुरीले दाबी गर्नुभयो । उहाँले सलीना चलचित्र काल्पनिक लोककथामा बनेको जानकारी दिनुभयो ।

चलचित्रको निर्माण टिमले शुक्रबार विज्ञप्ति जारी गर्दै एनिमेसन चलचित्र सलीना पूर्णरुपमा नेपाली भाषामा तयार भएको जनाएको छ । यस चलचित्र हिन्दी र अङ्ग्रेजी संस्करणमा समेत निर्माण गरिएको बताइएको छ । सन् २०२३ भित्र सलीना सिनेमा हलमा प्रदर्शनीमा ल्याउने तयारी भइरहेको बताइएको छ ।

यस चलचित्रमा निर्देशन तेजस राज जोशीले गर्नुभएको छ भने निर्माता तेजस राज जोशी र श्रुति श्रेष्ठ हुनुहुन्छ । साथै यस चलचित्रलाई सम्पादक शिव पुरी र श्रुति श्रेष्ठले संयुक्त रुपमा सम्पादन गर्नुभएको छ । चलचित्र सम्पादक पुरीले यसअघि दर्जनौँ चलचित्रमा सम्पादन गरिसक्नुभएको छ ।

यस चलचित्रमा ग्राफिक्स कलाकारका रुपमा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर हुनुहुन्छ । चलचित्र सलीनाले राजकुमारी शलिनाको कथा बताउँछ । उनी अरू पात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसीलाई हराउने अभियानमा यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा चलचित्रको कथा अगाडी बढ्छ ।

यो चलचित्रमा पार्श्व आवाज दिने कलाकारमा सुशील नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया