काठमाडौँ, ९ साउन : सङ्गीतकार तथा गायक कालीप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशीले साङ्गीतिक कार्यक्रमका लागि अमेरिका यात्रा गर्दै हुनुहुन्छ । थ्री ई इन्टरटेन्मेन्ट एलएलसीले आयोजना गर्न लागेको ‘युएसए टुर–२०२३’ मा उहाँहरूले आफ्नो प्रस्तुति दिनुहुने छ । थ्री ई इन्टरटेन्मेन्ट एलएलसी युवा सुरेश सापकोटाले स्थापना गर्नुभएको हो ।
सुरेशले काली र इन्दिराको प्रस्तुतिले संस्कृति, सङ्गीत र एकताको उत्सवलाई बलियो बनाउन नेपाली साङ्गीतिक प्रस्तुतिले दर्शकलाई मोहित बनाउने विश्वास व्यक्त गर्नुभयो । संस्थापक सापकोटाले भन्नुभयो, “यो भ्रमणका लागि कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीलाई अमेरिका ल्याउन पाउँदा हामी हर्षित छौँ । उहाँहरूको अद्वितीय शैली र चुम्बकीय स्टेज उपस्थितिले लाखौँको मन जित्दै आएको छ ।”
कार्यक्रमका लागि कलाकारको व्यवस्थापन पोजिटिभ भाइब्स इन्टरटेन्मेन्ट नेटवर्क प्रालिले गरेको छ । यो टुर अक्टोबर ७ देखि नोभेम्बर १४ सम्म हुने छ । काली र इन्दिराले सङ्गीतका लागि आफ्नो जोश साझा गर्न र दर्शकलाई अविस्मरणीय अनुभवमा डुबाउन उत्सुक रहेको बताएका छन् ।