महिला विश्वकप फुटबल : फिलिपिन्स र कोलम्बिया विजयी

  साउन ०९, २०८०

काठमाडौं, ९ साउन : फिफा महिला विश्वकप फुटबलमा फिलिपिन्स र कोलम्बियाले सफलता हात पारेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलले हरायो । समूह ‘एच’ को अर्को खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले स्तब्ध बनायो । 

फिलिपिन्सको जितमा सेरिना बोल्डेनले गोल गर्नुभयो । सेरिनाले २४ओं मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । जितसँगै फिलिपिन्सले दुई खेलबाट तीन अङ्क बनाएको छ । नकआउटमा पुग्ने सम्भवना जिवित राखेको फिलिपिन्स पहिलो खेलमा स्विट्जरल्यान्डसँग २–० गोलले पराजित भएको थियो । 

पराजित न्युजिल्यान्डको पनि तीन अङ्क छ । यस समूहको अन्तिममा रहेको नर्वेको एक अङ्क छ । मंगलबार नै भएको खेलमा नर्वे र स्विट्जरल्यान्डले गोलरहित बरबरी खेल्दै अङ्क बाँडेका हुन् । 

यसैगरी कोलम्बियालाई जिताउन मारिया काटालिना उस्मी पिनेडाले ३०औं मिनेटमा पेनाल्टी मार्फत सुरुवाती गोल गर्नुभयो । लिन्डा लिजेथ काइसेडो अलेग्रियाले ३९औं मिनेटमा गोल गर्नुभयो । पहिलो जितसँगै कोलम्बियाले तीन अङ्क बनाएको छ ।

दक्षिण कोरियाले हारबाट विश्वकपको सुरुवात गरेको छ । यस समूहमा जर्मनीको पनि तीन अङ्क छ । जर्मनीले आफ्नो पहिलो खेलमा मोरोक्कोलाई ६–० गोलले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया