प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन गर्नुहुँदै

  साउन ०३, २०८०

काठमाडौं, ३ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्नुहुँदै छ । लामो समयको प्रतीक्षापछि बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढ्ने भएको छ ।

फिल्ड कार्यालयको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहान ११ बजे गोरखा जाने जानकारी प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले दिनुभयो । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई रहेको गोरखाको सिउरेनीटारमा सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्रीले आज उद्घाटन गर्न लाग्नुभएको हो ।

उद्घाटन कार्यक्रममा धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाई निमन्त्रण गरिएको छ । कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत कम्पनी स्थापना गरिसकेको छ । काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरिसक्नुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया