काठमाडौँ, १५ असार : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा आफ्नो भूमिकालाई अझ सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पैँसठ्ठीऔँ संसद् दिवसको पूर्वसन्ध्यामा संसदीय अध्ययन तथा विकास संस्थापनाद्वारा आयोजित कार्यक्रममा सभामुख घिमिरेले दिवसको शुभकामना दिँदै सभामुखसँगै सबै सांसदहरू आफ्नो भूमिकाप्रति इमान्दार र प्रयत्नशील हुुनुपर्ने बताउनुभयो ।
“मैले खेल्ने ‘रेफ्री’ को भूमिकाअनुसार निश्चय पनि खेलाडीलाई ठीकसँग चलाउनेछु”, उहाँले भन्नुभयो, “जहाँसम्म एउटा रेफ्रीको भूमिका हो, खेलाडीले राम्रो नखेल्दिएपछि जतिसुकै योग्य रेफ्री भए पनि त्यो खेल दर्शकका लागि हेर्न लायक हुन सक्दैन । चाहेजस्तो परिणाम ल्याउन सक्दैन ।”
उहाँले आफू सभामुखको भूमिकाबाट विमुख नभएको स्पष्ट पार्दै भन्नुभयो, “पर्दा पछाडि सबै चलाउने उही छ । अब यसो छोपिएर चलिरहेको छ, पछाडिपट्टि यसलाई रिमोटले चलाइरहेको छ भन्ने सोच पु-याछ । त्यसलाई म केही भन्न सक्दिन ।” उहाँले आफूलाई पार्टीले सभामुखको जिम्मेवारीमा पठाइसकेपछि पार्टीको हितभन्दा पनि संसदीय मूल्य र मान्यता आफ्नो मुख्य कर्तव्य भएको बताउनुभयो ।
सभामुख घिमिरेले धेरै प्रयासपछि संसदीय समिति गठन भएको र समितिको प्रभावकारी सञ्चालनका लागि सभापति चयन गर्नेबारे बारम्बार ताकेता गर्दा पनि विभिन्न दलका सांसदबीच सहमति र सम्झदारी जुट्न नसकेको बताउनुभयो ।
अन्तरक्रियाका क्रममा उपस्थित नागरिक समाजका अगुवाले संसद्मा सांसदको उपस्थिति बलियो र अर्थपूर्ण हुन नसकेको भन्दै गुनासो गर्नुभयो । उहाँहरूले संविधानलाई आवश्यकताअनुसार संशोधन गर्नपर्नेमा जोड दिनुभयो ।
डा सुन्दरमणि दीक्षितले सभामुख घिमिरेलाई सदनमा सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउनुभयो । “कानून बनाउने सांसद नै संसद्मा उपस्थित हुँदैनन । संसद् खाली देखिन्छ, सभामुखले त्यसमा रुलिङ गर्ने कि नगर्ने ?”, उहाँले प्रश्न गर्नुभयो ।
डा वीरेन्द्र मिश्रले सभामुखलाई सांसद प्रभावकारी बन्न नसकेकोप्रति गुनासो व्यक्त गर्नुभयो । उहाँले सांसदहरू कानून मात्र बनाउन केन्द्रित हुँदा नीतिसँग कानून बाझिने र तालमेल नहुने समस्या देखिएको बताउनुभयो । प्रा डा रामबाबु ढकाल, डा विष्णुराज उप्रेती र डा इन्द्र अधिकारीले संसद्मा सांसदको भूमिकाबारे सभामुखको ध्यानआर्कषण गराउनुभयो ।