काठमाडौँ, ३२ जेठ : विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा मानवअधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरूको आयोजनामा सात जिल्लामा रक्तदान कार्यक्रम गरिएको छ ।
शान्ति समाज महोत्तरी शाखाको आयोजनामा जलेश्वरमा सम्पन्न रक्तदान कार्यक्रममा २८ जनाले र चितवन शाखाद्वारा आयोजित कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।
यसैगरी शान्ति समाज रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा तीन दर्जनले रक्तदान गरेका छन् । शान्ति समाज नुवाकोट शाखा र नुवाकोट आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा बट्टारमा सम्पन्न कार्यक्रममा ३४ जनाले रक्तदान गरेको जनाइएको छ ।
यस्तै शान्ति समाज पाल्पा, बाँके र सुनसरी शाखाले पनि दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेका छन् । सन् २००४ देखि जुन १४ का दिन अन्तर्राष्ट्रियस्तरमै विश्व रक्तदाता दिवस मनाउने गरिएको छ । शान्ति समाजले आफ्नो स्थापना दिवस, राष्ट्रिय परिषद् बैठकलगायत विभिन्न सन्दर्भमा रक्तदान कार्यक्रम गर्दै आएको छ । (रासस)