काठमाडौँ, ३२ जेठ : प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू उपस्थित नभएपछि विनियोजन विधेयक, २०८० अन्तर्गत उक्त मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल हटाइएको छ ।
आजको बैठकमा युवा तथा खेलकुद, वन तथा वातावरण र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।
मन्त्रालयगत छलफल प्रारम्भ भएको करिब डेढ घन्टापछि प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसद सूर्यबहादुर थापाले मन्त्री उपस्थित नभएसम्म छलफल अगाडि बढ्न नसक्ने भन्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त मन्त्रालयसँग सम्बन्धित विषयलाई कार्यसूचीबाट हटाइएको जानकारी गराउनुभयो ।
यसअघि शहरी विकास मन्त्रालयसँग सम्बन्धित पुस्तिका प्राप्त हुन नसेकपछि आजको बैठकमा तय भएको उक्त मन्त्रालयमाथिको छलफलको कार्यसूची पनि हटाइएको थियो ।
बैठक सञ्चालनका क्रममा उपसभामुख इन्दिरा रानाले युवा तथा खेलकुदमन्त्री लिम्बू विदेशमा रहनुभएको र मन्त्रालयको कार्यभार सम्हाल्नुभएका अर्का मन्त्रीलाई बैठकमा उपस्थित हुन खबर गरिएको बताउनुभएको थियो । उहाँले उक्त मन्त्रालयको सचिवसहितको टोली छलफलमा उठेका विषयको टिपोटका लागि उपस्थित भएको पनि जानकारी गराउनुभएको थियो ।
सांसद थापाले मन्त्री विदेशमा भए, स्वदेश फर्केपछि सम्बन्धित मन्त्रालयका बारेमा छलफल गर्न सकिने भन्दै उक्त मन्त्रालयसँगको छलफललाई आजको कार्यसूचीबाट हटाउन माग गर्नुभयो । मन्त्री उपस्थित नभएको तथा मन्त्रालयका सचिव बैठकमा बस्नुभएको भन्ने उपसभामुखको रुलिङलाई मान्न नसकिने जनाउँदै उहाँले उक्त मन्त्रालयको छलफल अर्को दिन राख्न माग गर्नुभयो । रासस