लेखनाथ हाफ म्याराथनमा बस्नेत च्याम्पियन

  जेठ २७, २०८०

कास्की, २७ जेठ : लेखनाथ खुला राष्ट्रिय पुरुष हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जित्नुभएको छ ।

पोखरा महानगर खेलकुद विकास समितिले पोखराको लेखनाथमा आज पहिलोपटक आयोजना गरेको म्याराथनमा बस्नेतले २१ दशमलव ९८ किलोमिटरको निर्धारित दूरी एक घन्टा १३ मिनेट ३३ सेकेन्डमा पूरा गरी च्याम्पियन बन्नुभयो ।

पोखरा–२९ भण्डारढीकस्थित प्रस्तावित लेखनाथ रङ्गशालाबाट सुरु भएको दौड लेखनाथ साना तथा सहरी खानेपानी, बेगनासताल, पार्किङबाट ड्याम हुँदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेट हुँदै कालीगण्डकी चोक पुगेको थियो । त्यसपछि खास्टेताल चोक, बुढीबजार सिमलमार्ग लक्ष्मी मावि हुँदै लेखनाथ चोक, डाँडानाकबाट तालचोक, शिशुवा, नौबीसे आदर्शचोक निस्केर भण्डारढीकस्थित लेखनाथ रङ्गशालामा पुगेर दौड टुङ्गिएको थियो ।

हाफ म्याराथनमा मोहनदेव जोशी द्वितीय बन्नुभयो । उहाँले निर्धारित दूरी पूरा गर्न एक घन्टा १४ मिनेट दुई सेकेन्ड समय लगाउनुभयो । यसैगरी एक घन्टा १८ मिनेट आठ सेकेन्डको समयमा दौड पूरा गरी अनिश गुरुङ तृतीय बन्नुभयो ।

महिलातर्फको १० किलोमिटर सडक दौडमा एक घन्टा छ मिनेट ३७ मिनेटमा पूरा गर्दै पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभयो । आशा रावत द्वितीय तथा सुमित्रा के चाण्डारीले तृतीय स्थान हासिल गर्नुभएको महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिनुभयो ।

म्याराथन विजेताले नगद रु ३० हजारसहित प्रमाणपत्र तथा उपविजेताले नगद रु २० हजार र तृतीय हुनेले रु १० हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । महिला १० किमी दौडका धाविकाले नगद रु ३० हजार, उपविजेताले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कार पाउनुभयो ।

विद्यालयस्तरीय पाँच किलोमिटर दौडअन्तर्गत छात्रतर्फ तेन्जेन रोकाले १७ मिनेट ४० सेकेन्डमा पूरा गर्दै प्रथम हुनुभयो । विवेक परियारले १७ मिनेट ५० सेकेन्डमा पूरा गरी द्वितीय र १७ मिनेट ५५ सेकेन्डको समय लगाउनुभएका सुनिल विकले तृतीय स्थान प्राप्त गर्नुभयो ।

छात्रातर्फको प्रतिस्पर्धामा पाँच किलोमिटर दौडमा नारायण भण्डारी प्रथम, मेनुका अधिकारी द्वितीय र एन्जेल अधिकारी तृतीय हुन सफल हुनुभयो । विद्यालयस्तरीय दौडका विजेताले क्रमशः रु १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्राप्त गरेका छन् । (रासस)

तपाईको प्रतिक्रिया