बोसिया खेलको लागि सरकारले विशेष बजेटको व्यवस्था गर्नुपर्ने माग

  जेठ २५, २०८०

काठमाडौँ, २५ जेठ : अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया सङ्घले पूर्ण र अति असक्त (मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनललगायत) अपाङ्गता भएका व्यक्तिको खेल विकासका लागि सरकारले विशेष बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

सङ्घद्धारा यहाँ आज आयोजित पूर्ण र अति असक्त अपाङ्गता भएका व्यक्तिको खेल विकासका लागि ‘बोसिया खेलको आवश्यकता, महत्व र खेल विकासका बारेमा खेलाडी र सरोकारवालासँगको अन्तक्र्रिया’ मा सङ्घले अपाङ्गता भएका व्यक्तिले खेल्ने बोसिया खेलको लागि नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको हो ।

सङ्घ सरकारले नै अपाङ्गता भएका व्यक्तिबीच नै प्रतिस्प्रर्धा हुने गरी राष्ट्रियस्तरको खेल प्रतियोगिता गर्नुपर्नेमा समेत जोड दिएको छ । सङ्घका अध्यक्ष गोमा पौडेलले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिलाई बोसिया खेलका लागि समस्या छ, मुख्य कुरा त ट्याक्सी प्रयोग गर्नुपर्ने हुन्छ तर पैसा हुँदैन, उनीहरूलाई यातायात भाडाको समस्या छ, त्यसका लागि सरकारले विशेष बजेटमार्फत भत्ताको व्यवस्था गर्नुपर्छ, अर्को अपाङ्गता भएका व्यक्तिलाई सरकारले नै सहयोगीको व्यवस्था गर्नुपर्छ ।” अपाङ्गता भएका व्यक्ति त्यसमा पनि अति अशक्त व्यक्तिलाई राज्यले विशेष सुविधा दिनुपर्ने उहाँको भनाइ थियो ।

बाग्मती प्रदेशका सांसद लक्ष्मी घिमिरेले बोसिया खेललाई राज्यले प्राथमिकताका साथ महत्व दिएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशस्तरबाट निर्माण हुने खेलसम्बन्धी नीति÷नियम, ऐन÷कानुनलाई अपाङ्गमैत्री बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले अपाङ्गतामैत्री भौतिक संरचनाको निम्ति राज्यले नै नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले समग्र खेलकुद क्षेत्रको विकासका लागि खर्च गर्दैगर्दा बोसिया खेलको निम्ति पनि लगानी गर्नुपर्ने धारणा राख्नुभयो । (रासस)

तपाईको प्रतिक्रिया