काठमाडौँ, ४ जेठ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य तथा कृषि सङ्गठनका सहायक महानिर्देशक तथा सङ्गठनको एसिया प्रशान्त क्षेत्रका प्रतिनिधि जोङ–जिन किमले आज शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उहाँहरूबीच द्विपक्षीय सहकार्यका विविध विषयमा विचार–विमर्श भएको थियो ।
सो क्रममा उपराष्ट्रपति यादवले नेपालले बहुपक्षीयताका मूल्य र सिद्धान्तको प्रवद्र्धन गर्दै आइरहेको जनाउँदै वर्तमान विश्व परिवेशका चुनौती सामना गर्न संयुक्त राष्ट्रसङ्घले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
“सैद्धान्तिक समर्थन तथा शान्ति स्थापना मिसनमा निरन्तर सहभागितामार्फत नेपालले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि महत्वपूर्ण योगदान गर्दै आएको छ”, उहाँले भन्नुभयो, “नेपालले भर्खरै अतिकम विकसित मुलुकको संयोजक समितिको अध्यक्षता गरेको छ, जसलाई सफलतापूर्वक र प्रभावकारीरूपमा वहन गर्न नेपाल दृढ छ ।”
उहाँले नेपालको कृषि क्षेत्रमा क्षमता विकास, खाद्य तथा पोषण सुरक्षा तथा ग्रामीण विकासमा विश्व खाद्य तथा कृषि सङ्गठनले गरेको योगदानको प्रशंसा गर्नुभयो । “नेपाल र विश्व खाद्य तथा कृषि सङ्गठनबीचको सहकार्य आउँदा दिनमा अझ प्रभावकारी र सुदृढ हुनेमा म विश्वस्त छु”, उपराष्ट्रपति यादवले भन्नुभयो ।